लाज, सरम र घिन नमानी गच्छदारले आफ्नो राजनीति सक्न षड्यन्त्र भएको बताउँदा कार्यकर्ताले ताली बजाए

विराटनगर । लामो समय जेलमा बसेर फर्किएका विजय कुमार गच्छदारलाई गृहजिल्लामा उनका कार्यकर्ताले फूलमालाले भव्य स्वागत गरेका छन् ।

नेपालमा भ्रष्टाचार मुद्दामा जेल बसेको वा मान्छे मार्ने उद्योगमा जेल बसेका नेताहरूलाई कार्यकर्ताले निर्लज्ज भएर यसो गरिरहेका उदाहरणहरू छन् ।

अदालतले नै दोषी पाएको नेताको मुहारमा कार्यकर्ताले यसो गर्दा चमक छाउने गरेको छ । उनीहरूको त्यो चमकले अदालतलाई र न्यायलाई गिज्याइरहेको भान हुन्छ ।

यस्तै भयो गच्छदारको केसमा पनि । आज अपरान्ह विराटनगर विमानस्थल ओर्लिएका गच्छदारलाई स्वागत गर्न कार्यकर्ताको ठूलो घुइँचो लागेको थियो । मोटरसाइकल र गाडीमा पार्टी झन्डासहित विमानस्थल आएका कार्यकर्ताले गच्छदारको पक्षमा नारा लगाउँदै स्वागत गरे ।

बुधबार काठमाडौंमा पत्रकार सम्मेलन गर्नुअघि गच्छदारले डेढ वर्षसम्म मौनतामा थिए । राजनीतिक कार्यक्रममा सहभागी हुन निकै लामो समयपछि सुनसरी आएका गच्छदारले त्यहाँ कार्यकर्ता भेटघाटसँगै पार्टीका कार्यक्रममा सहभागी हुने बताइएको छ ।

विमानस्थलमा पत्रकारहरूसँग कुराकानी गर्दै गच्छदारले आफ्नो राजनीति सक्न षड्यन्त्र भएको तर यसलाई आफूले सामना गरेको सुनाए । यसो भन्दा उनका कार्यकर्ता लाज सरम नमानी ताली पिटिरहेका थिए ।

गच्छदार ९ गते काठमाडौं फर्कने छन् । ११ गते फेरि सुनसरी आउने छन् । संसदीय व्यवस्था नै संकटमा परेको बताउँदै उनले तत्कालीन राज्यले नै आफूविरुद्ध षड्यन्त्र गरेको बताए । “संसदीय व्यवस्थामाथि कसैले षड्यन्त्र नगरोस् । धेरै कुरा देखियो आन्दोलनका अब यस्तो नहोस्,” उनले भने ।

५१ वर्षदेखि राजनीतिमा लागेको र जेल बसेर राजनीतिक यात्रा शुरु गरेको भन्दै उनले १९ वर्षपछि आफू आफ्नो कर्मक्षेत्रमा फर्किएर आएको सुनाए । विराटनगरको भूमिबाट आफूले राजनीतिक यात्रा सुरु गरेको र यहीँ ठाउँबाट आफू जनताको सेवामा लागेको गच्छदारले सुनाए ।  यस्तो सुनाउँदा उनका कार्यकर्ताले भगवान् बोलिरहेको अनुभव गरे । लाज सरम घिन केही बाँकी थिएन त्यहाँ ।