‘देउवाजी हामीले बनाइदिएको नयाँ घरमा रिबन काटेर, बत्ती बालेर सर्दै हुनुहुन्छ’

काठमाडौं । पूर्व प्रधानमन्त्री तथा नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले आफूले बनाएको घरमा प्रधानमन्त्री शेरबहादुर देउवा सर्न लागेको भन्दै व्यङ्ग्य गरेका छन् ।

काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो कटाक्ष गरेका हुन् ।

“यत्तिकै हामी सरकारबाट हट्नु परेका हैन नि । हामीले गरेको अपराध एउटा मात्र हो र ? कहिले चीनतिरबाट बाटो बनाएको छ । कहिले भारतसँग नाकाबन्दीको सामना गरेको छ । यता हेर्यो बाटै–बाटो, उता हेर्यो पुलै–पुल ।”

उनले भने “हेर त दुई वर्ष नपुग्दै धरहरा जुरुक्क उठेको छ । इतिहासमै नभएको आफ्नो संसद् भवन बन्दैछ । अब सम्माननीय प्रधानमन्त्री शेरबहादुर देउवाजी हामीले बनाइदिएको नयाँ घरमा सर्दै हुनुहुन्छ दुई–चार दिनमा । मलाई खुसी लाग्छ उहाँले रिबन काट्नुहुनेछ । बत्ति बालेर उद्घाटन गर्नुहुनेछ ।”