नेपालगञ्ज उपमहानगर पालिकाको बोर्ड बैठकमै कुटाकुट, ज्यान जोगाउनै मुस्किल

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगर पालिकाको बोर्ड बैठकमा वडाध्यक्ष र कार्यपालिका सदस्यबीचमा हात हालाहाल भएको छ।

कार्यपालिका सदस्य र वडाध्यक्षबीचको हानाहानमा वडा नम्बर ६ का अध्यक्ष समीरप्रताप सिंहको आँखामा चोट लागेको छ। चोटका कारण आफ्नो आँखा जँचाउन अस्पतालसमेत जानुपरेको वडाध्यक्ष सिंहले जानकारी दिए।

कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको बजेट पारदर्शी रुपमा खर्च नभएको वडाध्यक्षहरुले गुनासो गरेपछि भएको विवाद हात हालाहालसम्म पुगेको बैठकमा सहभागी एक वडा अध्यक्षले बताए।

यसअघिको बोर्ड बैठकले कार्यपालिका सदस्यले दलित, गरिब, विपन्न समुदायलाई १२ लाख रुपैयाँ खर्च गर्ने अख्तियारी दिएको थियो। उक्त बजेट पारदर्शी रुपमा खर्च नभएको वडा नं. ५ का अध्यक्ष कैफुलबराह जोलाहा र ७ नम्बरका अध्यक्ष जुम्मन खाँले उठाएपछि कार्यपालिका सदस्य देउमल सुनार प्रतिवादमा उत्रिएका थिए। सोही क्रममा कार्यपालिका सदस्य सुनार र वडाध्यक्ष जोलाहाबीचमा हात हालाहाल भएको हो।

उनीहरुलाई छुट्याउने क्रममा वडा नं. ६ का अध्यक्ष सिंहको आँखामा चोट लागेको हो। नेपालगञ्ज उपमहानगरपालिकाका प्रवक्ता एवं वडा नं. १ का अध्यक्ष प्रमोद रिजालले कार्यपालिका सदस्यलाई खर्च गर्न दिइएको रकमका विषयमा विवाद भएको जानकारी दिए।

‘कार्यपालिका सदस्यले आफूहरुसँग समन्वय नगरेर अपारदर्शी ढंगबाट बजेट खर्च गरेको भन्दै वडाध्यक्षले गुनासो गर्नुभयो। कार्यपालिका सदस्यहरुले पनि वडाध्यक्षले खर्च गर्दा पनि हामीसँग समन्वय गर्दैनन् भन्ने कुरा गरे। विवाद चर्कियो’, प्रवक्ता रिजालले भने, ‘यसैबीच कार्यपालिका सदस्य सुनार र वडाध्यक्ष जोलाहाका बीचमा हात हालाहाल भयो।’

बोर्ड बैठकमा मेयर धवलशमशेर राणा, उपमेयर उमा थापालगायत सबैको उपस्थिति रहेको थियो।