यसरी टुंगिदैछ ३३ किलो सुनकाण्डको नालीबेली

मोरङ । करिब ३३ किलो हराएको सुन र सनम शाक्य हत्या प्रकरण मुद्दाको अन्तिम बहस मोरङ जिल्ला अदालतमा सुरु भएको छ।

आइतबार पहिलो दिन जिल्ला अदालत मोरङका न्यायाधीश भरत लम्सालको इजलासमा जिल्ला सरकारी वकिल र उच्च अदालतका सरकारी वकिलले बहस गरेको श्रेष्तेदार टीकेन्द्रवीरजंग राणाले जानकारी दिए।

श्रेष्तेदार राणाका अनुसार सरकारी वकिलतर्फबाट मोरङ जिल्ला न्यायाधीवक्ता रामहरि शर्मा काफ्ले, सहायक जिल्ला न्यायाधीवक्ता मनिषबाबु पोखरेल र उच्च सरकारी वकिल कार्यालय विराटनगरका सहन्यायाधीवक्ता ज्ञानप्रसाद भुषालले अवैध सुन चोरी निकासी र पैठारीको विषयमा बहस गरेका थिए। सहायक जिल्ला न्यायाधीवक्ता पोखरेलले बहसमा प्रतिवादी बनाइएकाहरुलाई बिगो बमोजिम जरिवाना र ५ वर्षसम्म कैद सजायको हुनुपर्ने माग गरेका छन्।

त्यसैगरि सरकारी वकिलतर्फलाई बहसका लागि दुई दिनको समय दिइएको जिल्ला अदालत मोरङका सूचना अधिकारी राजेन्द्रप्रसाद धमलाले जानकारी दिए। धमलाका अनुसार सोमबार सरकारी वकिलको बहस सकिएपछि प्रतिवादीतर्फका कानुन व्यवसायीहरुले बहस गर्नेछन्।

२०७४ साल फागुन १८ गते उर्लाबारीका सनम शाक्यको २०७४ फागुन १८ गते जंगलमा करेन्ट लगाएर हत्या गरिएको घटनापछि सुनकाण्ड सतहमा आएको हो। यसक्रममा सुन भित्र्याउने मुख्य नाइके उर्लाबारीकै गोरे भनिने चूडामणि उप्रेतीलाई अभियुक्त बनाइएको मुद्दालाई असोज ७ गतेदेखि सुनुवाइका क्रममा हेर्दाहेर्दैमा राखिएको थियो। दुबईबाट अवैध रुपमा भित्र्याएको करिब साढे ३३ किलो सुन हराएपछि गोरेसहितको समूहले शाक्यको हत्या गरेको कुरा खुलेको थियो।

घटनालगत्तै फरार अवस्थामा रहेका गोरेलाई केही समयपछि प्रहरीले पक्राउ गरेको थियो। अदालतले उनलाई पुर्पक्षका लागि थुनामा राख्न आदेश दिएको छ।

सुन तस्करी प्रकरणमा नेपाल प्रहरीका पूर्वडीआईजी गोविन्दप्रसाद निरौला, एसएसपी श्यामबहादुर खत्री, दिवेश लोहनी, एसपी विकासराज खनाल, डीएसपीहरु सञ्जयबहादुर राउत, प्रजित केसी, सइ बालकृष्ण सञ्जेल लगायत मुछिएका छन्। प्रतिवादी बनाइएकामध्ये खत्री र राउत हाल थुनामा छन्।यद्यपि प्रहरीका अन्य अधिकारी उच्च अदालत विराटनगरको आदेशबाट छुटिसकेका छन्।

सरकारी वकिल कार्यालय मोरङले २०७५ वैशाख १९ गते जिल्ला अदालत मोरङमा ‘आपराधिक समूह स्थापना र सञ्चालन गरी सुन चोरी पैठारी र चोरी निकासीको अवैध कारोवार, अपहरण तथा शरीर बन्धक र कर्तव्य ज्यान’ गरेर चारवटा शीर्षकमा मुद्दा दायर गरेको थियो।