एमालेका सांसदहरुलाई संसदमा छिर्न लाज लाग्नुपर्ने हो : भट्टराई

काठमाडौं । जनता समाजवादी पार्टीका संघीय परिषद अध्यक्ष डा बाबुराम भट्टराईले नेकपा एमालेका सांसदहरुलाई संसदमा छिर्न लाज लाग्नुपर्ने बताएका छन् ।

उनले संसदलाई २-२ चोटी विघटन गर्ने एमालेलाई संसदमा आउन समेत लाज हुनुपर्ने टिप्पणी समेत गरे ।

त्यस्तै साँच्चै लाज लाग्छ भने सांसदपदबाट राजिनामा दिएर देखाउन पनि उनले चुनाैती दिएका छन् ।

सोमबार प्रतिनिधिसभा बैठकबाट बाहिरिने क्रममा उनले अलिकति पनि नैतिकता छ भने एमालेका सांसदहरुले संसद अवरुद्ध पारेर बस्ने नभई राजीनामा गरेर जनताको बीचमा जानुपर्ने प्रतिक्रिया दिए ।

अध्यक्ष भट्टराईले सर्वोच्चको फैसला मान्दैनौ भन्ने एमालेले संविधानको सर्वोच्चता र संसदीय मर्यादाको कुरा गर्नु सरमको विषय भएको पनि बताए ।

‘जसले संसदलाई २-२ चोटी विघटन गर्छ । ती मान्छेहरुले लाजै पचाएर संवैधानिक सर्वोच्चता कायम गर भन्ने । सर्वोच्चको फैसला मान्दैनौं भन्ने अनि संवैधानिक सर्वोच्चता भन्ने ? अनि संसदीय मर्यादा कायम ।

जुन संसदलाई विघटन गरिसक्यो, उसले त्यो संसदमा आउन त लाज हुनुपर्ने हो’ आफूले विगतमा माओवादी छाडेपछि सांसद पदबाट राजीनामा दिएको स्मरण गर्दै उनले भने, ‘उहाँहरुमा अलिकति पनि नैतिकता छ भने राजीनामा गरेर जनताबीच जानुपर्छ ।’