आठ वर्षसम्म मृतकको सामाजिक सुरक्षा भत्ता हसुरेका ५ कर्मचारीविरूद्ध अख्तियार

काठमाडौं । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले उदयपुर जिल्लाको साविक रामपुर ठोक्सिला गाविसका ५ जना कर्मचारीहरुले मरिसकेका व्यक्तिहरुको नाममा सामाजिक सुरक्षा भत्ता लिँदै आएकोले भ्रष्टाचार आरोपमा मुद्दामा दायर भएको छ ।


उनीहरुले आठ वर्षअघि नै मरिसकेका व्यक्तिहरुको नाममा सामाजिक सुरक्षा भत्ता लिँदै आएका थिए ।
अख्तियारले दिएको जानकारीअनुसार मुद्दा दायर भएका व्यक्तिहरुले आर्थिक वर्ष ०६३् देखि लगातार आठ वर्षसम्म मृतकका नाममा कैफियत गरी सामाजिक भत्ताबापतको रकम खाँदै आएका थिए ।

नीज ५ जनाले परिवारले मृत्यु दर्ता गराए पनि सोको भरपाई कैफियतमा राखी लगातार रकम लिएको दाबी अख्तियारको रहेको छ ।


मृतक लाभग्राहीहरुको नाममा र दोहोरो नामको भरपाईबाट समेत सामाजिक सुरक्षा भत्तामा करीब १६ लाख चालिस हजार रकम हिनामिना गरेको आरोप पत्र अख्तियारले दायर गरेको हो ।

अख्तियारले आरोपीहरुलाई अख्तियार ऐन, २०४८ को दफा १८ एवं दफा ३५ बमोजिम विशेष अदालत, काठमाडौंमा आरोप पत्र दायर गरेको छ।

सबैभन्दा धेरै बिगो रकम केशव प्रसाद आचार्यसँग माग गरिएको छ । उनीसँग ९,९०,५०० रूपैयाँ बिगो माग गरिएको हो ।

त्यस्तै तत्कालीन गाविस सचिव हाल रौतामाई गाउपालिका वडा नं ७ को वडा सचिव पदमा कार्यरत खरिदार लोकेन्द्र कार्कीसँग ७८,००० माग भएको छ ।

साथै तत्कालीन गाविस सचिव पदमा कार्यरत हाल तथ्याङ्क कार्यालय, उदयपुरमा कार्यरत खरिदार विसाल सुन्दाससँग ८२,००० माग गरिएको छ ।

तत्कालीन गाविस सचिव (नासु) हाल रौतामाई गाउँपालिकाको कार्यालयमा अधिकृत छैटौ पदमा कार्यरत माधव प्रसाद खतिवडासँग ३,१४,००० माग गरिएको छ ।

तत्कालीन गाविस सचिव पदमा कार्यरत (हाल अवकास प्राप्त) शाखा अधिकृत पुष्पराज सिग्देलसँग १,७६,००० माग गरिएको हो ।

आरोपीहरुकाे नाम कार्यालय , माग गरिएको रकम र कसुर निम्न रहेको अख्तियारका प्रवक्ता नारायण प्रसाद रिसालले जानकारी दिएका छन् ।