काठमाडौं महानगरका मेयरले चलाए ‘१८ वर्षमाथिका सबै नागरिकका लागि खोप अभियान’

काठमाडौं । काठमाडौं महानगरका मेयर विद्यासुन्दर शाक्यले १८ वर्षमाथिका सबै नागरिकका लागि खोप अभियान चलाएका छन् ।

काठमाडौं महानगरपालिकाले दशैं पर्वलक्षित गरी १८ वर्षमाथिका सबै नागरिकका लागि तीन दिन कोभिड–१९ विरुद्धको खोप कार्यक्रम सञ्चालन गर्ने भएको हो ।

यही असोज २२ देखि सुरु हुने कार्यक्रम २४ गते अपराह्नसम्म सबै वडाबाट सञ्चालन हुनेछ । यो खोप कार्यक्रम पहिलो डोज लिनेका लागि हो ।

शाक्य भनछन्, “पर्वका समयमा युवाहरू धेरै सक्रिय हुने भएकोले सकेसम्म छिटो खोप लगाउन चाहेका हौं । ३२ वटा नै वडामा सबै नागरिकका लगि खोप लगाउन पाए जोखिम कम हुने थियो भनेर अभियान चलाइएको हो । खोप लगाए पनि मास्क प्रयोग गर्ने र सामाजिक दुरी कायम भने गरिदिनुभयो भने सहज हुने थियो ।”

शाक्यका अनुसार खोप लिन विद्युतीय दर्ता गरेर परिचयपत्रसहित खोप केन्द्र जानुपर्नेछ । महानगरका ३२ वटा खोप केन्द्रबाहेक नेपाल प्रहरी अस्पताल, वीर अस्पताल, निजामती कर्मचारी अस्पताल, परोपकार प्रसूति तथा स्त्रीरोग अस्पताल र वीरेन्द्र सैनिक अस्पतालबाट पनि खोप लिन सकिनेछ ।