स्रोत नखुलेको ८० लाख रूपैयाँसहित एक जना पक्राउ

काठमाडौं । मध्यपुर ठिमी नगरपालिका-१ लोकन्थलीबाट प्रहरीले ८० लाख रूपैयाँसहित एकजनालाई पक्राउ गरेको छ।

कोटेश्वर बस्ने बाग्लुङ गल्कोट नगरपालिका-१० पाण्डवखानी घर भएका ३६ वर्षीय चित्र बहादुर पुन मगरलाई बुधबार राति प्रहरीले पक्राउ गरेको हो। मगरले उक्त रकमको स्रोत खुलाउन नसकेको प्रहरीको दावी छ।

लोकन्थली मनहरा आँखा अस्पताल नजिक हुण्डीको कारोबार भईरहेको आशंकामा मगरलाई बा ४९ प ८५६५ नम्बरको स्कुटर र ३० लाख रूपैयाँसहित नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ। मगरको कोठा खान तलासी गर्दा थप ५० लाख रूपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।

मगरलाई आवश्यक कारबाहीका लागि सम्पत्ती सुद्धिकरण विभाग पठाइएको प्रहरीले जनाएको छ।