मिठाइमा अखाद्य वस्तु हाइड्रोको प्रयोग

काठमाडौं । काठमाडौं महानगर क्षेत्रमा चलाइएका मिठाइ पसलहरुले मिठाइ बनाउँदा लुकीलुकी हाइड्रोको प्रयोग गरिरहेको पाइएको छ ।

महानगरको बजार व्यवस्थापन तथा उपभोक्ता हित संरक्षण समितिले आज लाजिम्पाट क्षेत्रमा गरेको अनुगमनका क्रममा २ वटा मिठाई पसलको भान्छामा हाइड्रोका बट्टा भेट्टाएको हो । मूल सडकमै रहेको तृष्णा मिठाइ पसल र निखिलेश्वरम् मिठाइ पसलको भान्छामा भेट्टाइएका ती बट्टाहरु अनुगमन टोलीले बरामद गरेको छ । ती दुवै पसललाई दश-दश हजार रुपैयाँका दरले आर्थिक जरिवाना गराइएको छ । पसलका सञ्चालकहरु, हाइड्रो अखाद्य भएको स्वीकार गरिरहेका थिए ।

‘अखाद्य बस्तुको भान्छामा कसरी पुग्यो?’ अनुगमन समितिका अधिकारीको प्रश्नमा उत्तरमा उनीहरुले भने, ‘उपभोक्ताहरुले धेरै सेता मिठाइ मन पराउने भएपछि यदाकदा प्रयोग गर्ने’ गरेको स्वीकार गरे । उपभोक्ताको रुची अनुसार रसबरी बनाउने हो भने एउटाको लागत ६० रुपैयाँसम्म पर्छ । लागत ६० भएपछि विक्री कति रुपैयाँमा गर्ने ? हिजोसम्म २०÷३० रुपैयाँमा पाइएको रसवरी ७०÷८० रुपैयाँमा विक्री हुन्छ कि हुँदैन ? उनीहरु आफ्ना गुनासा सुनाउँदै थिए । तृष्णा मिठाइको भान्छाबाट म्याद सकिएका थप ८ बट्टा रङ र निखिलेश्वरमको भान्छाबाट करीव २० लिटर म्याद सकिएको बटर जफत गरिएको छ ।


सोह्रखुट्टे चोकमा रहेको सूर्यदेव मिठाइ पसलबाट करीब २ सय वटा रसवरी नष्ट गरिएको छ । भान्छामा ठूलो डेक्चीमा राखिएको रसवरीमा भुसुना, लामखुट्टेजस्ता कीराहरु तैरिरहेका थिए । महानगरले खाद्य सुरक्षा तथा बजार व्यवस्थापनसँग सम्बन्धित कार्यालयसँग सहकार्य गरेर तिहार लक्षित बजार अनुगमन गरिरहेको छ ।