१४ वर्षीया बालिका बलात्कृत

रुकुम । रुकुम पश्चिमको आठबीसकोट नगरपालिकामा एक बालिका बलात्कृत भएकी छन् । जाजरकोटको नलगाड नगरपालिका–१ की अन्दाजी १४ वर्षीया बालिका रुकुम पश्चिमको आठबीसकोट नगरपालिका– १४ को बाँकेज्युलामा बलात्कृत भएकी हुन् ।

बलात्कृत बालिकाको अवस्था गम्भीर भएको उनको उपचारका नेपालगन्ज रिफर गरिएको प्रहरीले जनाएको छ ।

बुधबार घरबाट मेला हेर्न बाँकेज्युलामा आएकी बालिका बुधबार राती ८ बजेतिर अचेत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक डेकेन्द्र शर्मा रेग्मीले बताए ।

बालिका अचेत अवस्थामा फेला परेको र अत्यधिक रक्तस्राव भइरहेको प्रहरी निरीक्षक शर्माले बताए । नगर अस्पतालमा थप उपचार सम्भव नभएपछि बालिकालाई थप उपचारका लागि नेपालगन्ज लगिएको छ ।

बालिकाको अवस्था हेर्दा र प्रारम्भिक अनुसन्धानबाट बलात्कार भएको देखिएको प्रहरी निरीक्षक शर्माको बताए ।

१४ वर्षाीया बालिकालाई बाँकेज्युलाका २६ वर्षीय झलक जैसीले बलात्कार गरेको र उनी फरार रहेको प्रहरीले जनाएको छ । उनको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

पीडित बालिकाका बुबाले इलाका प्रहरी कार्यालय राडीमा ठाडो उजुरी दिएका छन् । घटनाको थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ छ ।