‘हाकिम मन नपरेर आन्दोलन गरेको जस्तो न्यायाधीशहरूले गर्न हुन्न’


काठमाडाैं । सत्तारुढ दल नेपाली कांग्रेसका सांसद मीन विश्वकर्माले न्यायपालिकाको समस्या समाधान न्यायपालिकाभित्रैबाट नै हुनुपर्ने बताएका छन् । 

बिहीबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले यस्तो बताएका हुन् । सांसद विश्वकर्माले प्रधानन्यायाधीशको गल्ती नभए सर्वोच्चका न्यायाधीशहरूसँग बसेर छलफल गरी न्यायपालिकाको गरिमा बढाउनुपर्ने बताए । उनले सरकारी कार्यालयमा हाकिम मन नपरेर आन्दोलन गरेको जस्तो न्यायाधीशहरूले गर्नु नहुने तर्क गरे । 

‘शक्ति पृथकीकरणको सिद्धान्तमा चलेको राज्यमा राज्य प्रणालीमा कार्यपालिका, न्यायपालिका र व्यवस्थापिका ३ छुट्टै स्वतन्त्र अंग हुन्, न्यायपालिकाले कार्यपालिका र व्यवस्थापिकाबीचमा भएको द्वन्द्वलाई समेत निवारण गरेर तटस्थ, निष्पक्ष हुनुपर्छ, त्योभित्र रहेका व्यक्तिहरूको बारेमा आम जनतामा उनीहरूको आचरण, व्यवहार, कार्यशैली, भूमिकाको बारेमा आम जनताका बीचमा प्रश्न उठ्यो, चर्चा प्रारम्भ भयो, त्यो भनेको सर्वोच्चका प्रधानन्यायाधीशले नै निकास दिनुपर्छ, उहाँ एक्लै नभए सबै न्यायाधीशहरूले बसेर छलफल गरी निकास दिनुपर्छ,’ सांसद विश्वकर्माले भने । 

 कांग्रेसकै सांसद अमरेशकुमार सिंहले हरेक राजनीतिक दलको नेतृत्वको असक्षमताका कारण देशअघि बढ्न नसकेको बताए । उनले एउटै व्यक्ति पार्टीको लगातार नेतृत्वमा बसिरहनाले देशले ३० वर्षमा पनि गति लिन नसकेको बताए ।

‘हरेक राजनीतिक दलको नेतृत्वको असक्षमता प्रदर्शित गरेको छ, विगत ३० वर्षदेखि यो देशअघि बढ्न सकेको छैन, एउटै व्यक्ति नेतृत्व र प्रधानमन्त्रीमा कब्जा गरेर बसेको छ, त्यसैले देश कतै पुग्दैन,’ सिंहले भने ।