राणाले आफ्नो र न्यायालयको इज्जत राख्ने हो भने तत्काल राजीनामा दिनु पर्ने

काठमाडौं । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर राणाले आफ्नो र न्यायालयको इज्जत राख्ने हो भने तत्काल राजीनामा दिनु पर्ने वरिष्ठ अधिवक्तारुले बताएका छन् ।

वरिष्ठ हरिहर दाहालले भनेका छन्, ‘विवादमा परेको मानिसको कसरी सम्मानजनक बहिर्गमन हुन्छ? यो कसरी सम्भव हुन्छ? संस्थाको मर्यादा र आफ्नो मर्यादा कायम गर्ने हो भने राजीनामा दिनुपर्छ ।’

उनले सुनुवाइको माग गर्दै सेतोपट्टी लगाएर प्रदर्शन गर्नेहरुलाई विभाजित नहुन आग्रह गरिएको पनि बताएका छन् । उनले भने, ‘सेतोपट्टी लगाउनेहरुलाई अनुरोध विभाजन नहुनुस्, न्यायाधीशमा पनि विभाजन ल्याउन खोजिएला । संस्थाको मर्यादा रहोस् हामीलाई केही पाउन छैन।’ आफूहरुको अभियान न्यायालय शुद्धिकरणका लागि रहेको उनले बताए ।

उनले भने, ‘सर्वोच्च अदालतले नै बनाएको समितिले प्रतिवेदन दिएको थियो। दसैँअघि प्रधानन्यायाधीशले सर्वोच्चमा रहेको प्रतिवेदनबारे नकारात्मक धारणा राख्नु भयो । एउटा रिट पारियो । एकल इजलासबाट संवैधानिक इजलास रोकियो। कानुनले नदिएको अधिकार प्रयोग गरेकोमा बारले ध्यानाकर्षण गरायो। संवैधानिक इजलासमा लैजाने बार र बेञ्चको बैठकमा भन्नुभएको थियो तर पछाडि हट्नु भयो।’

यस्तै वरिष्ठ अधिवक्ता कृष्णप्रसाद भण्डारीले प्रधानन्यायाधीश राणाले भ्रष्टाचार र अन्याय बढाएर न्याय अधोगतितिर लगेको आरोप लगाए । उनले प्रधानन्यायाधीशलाई बुधबारसम्म राजीनामा दिन र त्यही नै सम्मानजनक हुने चेतावनी दिए । उनले भने, ‘हामी सडकमा आउन नपारोस् ।’

नेपाल बारका चण्डेश्वर श्रेष्ठले न्याय अवरुद्ध र विचलनमा रहेको बताए । प्रधानन्यायाधीशको राजीनामा माग गर्दै भइरहेको वकिलको आन्दोलनलाई सम्बोधन गर्दै उनले तत्काल प्रधानन्यायाधीशको राजीनामा आउनु पर्ने बताए ।

उनले भने, ‘उहाँ पदमा जति बस्नु हुन्छ त्यति नै न्यायालय धरासायी हुन्छ । न्यायापालिकालाई विवादित बनाउने काम प्रधानन्यायाधीशले गर्नु भयो। राजीनामा नआए भोलिदेखि हामी सडकमा आउँछौँ ।’