रामचन्द्र पौडेलले मागे प्रधानन्यायाधीशको राजिनामा

काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिनुपर्ने बताएका छन्।

नेपाली कांग्रेस जिल्ला समिति मकवानपुरले मंगलबार हेटौंडामा आयोजना गरेको एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले प्रधानन्यायाधीश जबराले छिटोभन्दा छिटो पदबाट राजीनामा दिएमात्रै सम्मानजनक बर्हिगमन हुने स्पष्ट पारे।

प्रधानन्यायाधीश जबराले केही दिनअघि आफ्नो सम्मानजनक बर्हिगमनको कुरा गरेको उल्लेख गर्दै नेता पौडेलले त्यसका लागि राणाले छिटो राजीनामा दिनुपर्नेमा जोड दिएका हुन्। उनले ढिलो गर्दै गए प्रधानन्यायाधीशको बर्हिगमन अपमानजनक हुनेसमेत स्पष्ट पारे।

प्रधानन्यायाधीशसँग सेटिङ गरेर तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले संवैधानिक परिषद्लाई ध्वस्त पारेको बताउँदै नेता पौडेलले संविधानको आत्मामाथि नै प्रहार गरेको आरोप लगाए।

‘अरु संस्था त ध्वस्त भए, भए। जनताको न्यायको अन्तिम मन्दिर सर्वोच्च अदालत आज ध्वस्त भइरहेको छ। प्रधानन्यायाधीशले अस्तिमात्रै भन्नुभयो –ल ल म छोडन त छोडछु तर मलाई सम्मानजनक बर्हिगमनका लागि मौका दिनुस्। मैले त हिजो भन्दिएँ, जति छिटो छोड्नु हुन्छ, त्यति सम्मानजनक। जति ढिलो छोड्नुहुन्छ, त्यति असम्मानजनक हुन्छ तपाईँको’, उनले भने, ‘किनभने एकपछि अर्को सेटिङका प्रश्न खोतलिँदै आउँछन्। सेटिङ गर्नुभएको क–कसले? यो देशका प्रधानमन्त्रीहरु सेटिङ गर्ने अदालतसित। प्रधानन्यायाधीशसँग सेटिङ गर्ने। तँलाई यो मन्त्री दिन्छु, यो राजदूत दिन्छु। आयुक्त दिन्छु, मेरो कुरा मान। मैले संवैधानिक परिषद्लाई ध्वस्त पारेको पनि मान। संविधानको आत्मामाथि प्रहार गरेको साक्षी बसिदे प्रधानन्यायाधीश भनेर यो सेटिङ गरेको हो कि होइन? आज सर्वोच्च अदालतको के हालत भइरहेको छ? यो अवस्थामा देश किन पुग्यो?’