काठमाडौं महानगरद्धारा मधुमेही समाजलाई १० लाख सहयोग

ठमाडौं । काठमाडौं महानगरपालिकाका प्रमुख विद्यासुन्दर शाक्यले शहरका घर घरमा मधुमेहका विरामी भएकाले यसको जोखिमब घटाउन सवै सजग हुनु पर्ने बताएका छन् । मधुमेह दिवसको अवसर पारेर नेपाल मधुमेही समाजद्धारा आयोजित कार्यक्रमलाई सम्वोधन गर्दै प्रमुख शाक्यले सो कुरा बताएका हुन् ।

रोग लागेर उपचार गर्नु भन्दा रोग लाग्न नै नदिनु उत्तम भएको भन्दै प्रमुख शाक्यले रोग लागेपछि उपचार गर्ने अवस्थाले व्यक्ति र परिवारमा निकै समस्या थपिने भएकाले अव व्यक्ति आफै सजग हुनु पर्ने उनको धारणा थियो ।

काठमाडौं महानगरपालिकाले आम नागरिकहरुको स्वास्थ्यलाई पहिलो प्राथमिकतामा राखेर काम गरेको बताउँदै महानगरका प्रमुख शाक्यले मिर्गौला बचाउन अभियान नै शुरु गरिसकेको बताए ।

उनले भने, ‘हामीले मिर्गौला बचाउन अभियान चलाएका र्छाैँ । निःशुल्क डायलायसिस सेवाका लागि नेपाली सेनासँग सहकार्य गरेका छौँ । नेपाल प्रहरीसँग सहकार्य गर्दैछौँ । निःशुल्क एम्बुलेन्स सेवा चलाएका छौँ । सरकारी र सामुदायिक अस्पतालको क्षमता बढाउन आर्थिक सहयोग गरेका छौँ । उपचार प्रविधिमा नयाँ आविष्काहरु खरिद गरिदिएका छौँ ।’

कार्यक्रममा मधुमेह पहिचान, रोकथाम र नियन्त्रणका लागि काठमाडौँ महानगरपालिकाले नेपाल मधुमेही समाजलाई १० लाख रुपैयाँ उपलब्ध गराउने भएको छ ।
विश्व मधुमेह दिवस २०२१ को सन्दर्भ पारेर आज महानगरको स्वास्थ्य विभाग र मधुमेही समाजविच सम्झौता भएको हो । महानगरका प्रमुख विद्यासुन्दर शाक्य र प्रमुख प्रशासकीय अधिकृत राजेश्वर ज्ञवालीको रोहवरमा भएको सम्झौतामा महानगरकातर्फबाट विभागका प्रमुख हरिबहादुर कुँवर र समाजकातर्फबाट अध्यक्ष शिव श्रेष्ठले हस्ताक्षर गरेका थिए ।