सार्वजनिक जग्गालाई हरियाली सहित खुल्ला राख्ने महानगरका मेयर शाक्यको भनाई

काठमाडौं । काठमाडौं महानगरपालिका क्षेत्रभित्र रहेको सार्वजनिक जग्गाको संरक्षण गरी त्यसलाई हरियाली सहितको खुल्ला ठाउँका रुपमा विकसित गर्न महानगर लागि परेको महानगरका मेयर विद्यासुन्दर शाक्यले बताएका छन् ।
शुक्रबार वडा नं. १८ स्थित पुष्पलाल पार्कमा जडान गरिएको शारीरिक अभ्यासका लागि आवश्यक उपकरणहरुको उद्घाटन गर्दै प्रमुख शाक्यले सो कुरा बताएका हुन् ।

‘सार्वजनिक जग्गाहरु अतिक्रमण भईरहेका छन्, त्यस्ता खुल्ला ठाउँहरु अतिक्रमण हुन बाट जोगाउन स्थानीयबासीहरुले पनि सहयोग गर्नु पर्दछ । त्यस्ता खाली ठाउँमा महानगरले हरियाली युक्त पार्क निर्माण गर्ने छौं। ’ महानगर प्रमुख शाक्यको भनाई थियो ।

प्रमुख शाक्ले भने, ‘हामी हरेक वडामा कम्तीमा एउटा पार्क बनाएर घर नजिक शारीरिक अभ्यास गर्ने ठाउँ बनाउँछौँ । सार्वजनिक जग्गा खोजेर संरक्षण गर्ने, पार्क बनाउने काम हाम्रो हो । त्यसको सञ्चालन र व्यवस्थापन गर्ने जिम्मा स्थानीयबासीको हो ।’
सोही कार्यक्रममा वडा नं. १८ का अध्यक्ष न्हुच्छेकाजी महर्जनले, भित्री वडाहरुमा यसप्रकारको खुल्ला व्यायाम स्थल पहिलो भएको उल्लेख गर्दै वाहिरी वडाहरुमा खुल्ला ठाउँ पनि भएकोले यस अघि नै खुल्ला व्यायामशाला बनाइए । भित्री वडामा खुल्ला ठाउँ नभएकोले यसप्रकारका सेवा सञ्चालन गर्न कठिन भएको बताए

व्यायाम स्थलमा करीव १० लाख बराबरको स्काइ वाकर, एअर वाकर, क्रस टे«नर, सिट अप सिङ्गल, चेस्ट प्रेस, थाइ ची स्पिनर, साइकल, हर्स राइडर, डवल स्ट्याण्डिङ् ट्वीस्टर, पुस अप बार, व्याक एक्स्टेन्सनजस्ता ११ प्रकारका सामग्री राखिएका छन् ।