आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई मर्यादित बनाऔँ : प्रमुख आयुक्त

विराटनगर । प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले आचारसंहिताको पूर्ण पालना गर्दै निर्वाचनलाई स्वच्छ र मर्यादित बनाउन राजनीतिक दलहरूलाई आग्रह गर्नु भएको छ ।

स्थानीयतहको निर्वाचनलाई लंक्षितगर्दै निर्वाचन आयोगले विराटनगरमा आज आयोजना गरेको निर्वाचन आचारसंहिता सम्बन्धी राजनीतिक दलहरूसँगको छलफल कार्यक्रममा उहाँले निर्वाचन खर्चिलो र भड्किलो हुन नदिन यस पटकको निर्वाचनमा आचारसंहिता पालनमा कडाइ गरिने बताए ।

निर्वाचनलाई खर्चिलो र भड्किलो बनाउने प्रवृत्तिलाई निस्तेज पार्न सबैको सहयोग आवश्यक रहेको उहाँले बताए । । उनले प्रत्येक स्थानीय तहका आचारसंहिता कार्यान्वयनका लागि समिति गठन गरेर अनुगमन गरिने व्यवस्था मिलाउन लागेको बताए ।

उनले विगतको निर्वाचनमा आचारसंहिता पालना नभएको विषयमा व्यापक जनगुनासो आएकाले अबको निर्वाचनमा आचार संहिता कार्यान्वयन आयोगले नयाँ रणनीति कार्यान्वयन गर्न लागेको प्रस्ट पारे । अबको निर्वाचनमा नयाँ रणनीति कार्यान्वयन गरेर आचार संहिता उलङ्घन हुन दिँदैनौ उनले बताए । ।

प्रमुख निर्वाचन आयुक्त थपलियाले मनी र मसलबाट प्रभावित हुने निर्वाचनले राजनीतिक दलको निष्ठा र सिद्धान्त पराजित गर्ने बताउनुभयो । उनले लोकतन्त्रको रक्षा गर्दै शासकीय पद्धति सुधारका लागी दलहरुमा नैतिकता र इमानदारिता आवश्यक रहेको बताए । आचारसंहिता उलंघनगर्ने उपर स्थानीय समुदायबाटै खबरदारी आवश्यक रहेको उनले बताए । कार्यक्रममा आचारसंहिता कार्यान्वयनका विषयमा विभिन्न कार्यपत्र प्रस्तुत गरिएको थियो । कार्यक्रममा विभिन्न राजनीति दलका प्रतिनिधि , सङ्घसंस्थाका प्रतिनिधि स्थानीय निकायका प्रमुख प्रशासकीय अधिकृत, कानुन व्यवसायी तथा निर्वाचन कार्यालयका प्रमुखको सहभागिता थियो ।