धितोपत्र बजारमा नेप्से परिसूचक ओरालो लाग्दै

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज पनि ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक ३४.७९ अङ्कले ओरालो लागेर २ हजार ३८५.०१ मा झरेको छ ।

मङ्गलबारको कारोबारपछि बजार पुँजीकरण ३३ खर्ब ८३ अर्ब २१ करोड ८६ लाख ८० हजार बराबर पुगेको छ । ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ५.७६ अङ्कले ओरालो लागेर ४४९.१२ मा ओर्लेको हो । नेप्से ओरालो लागेसँगै कारोबार रकमसमेत ओरालो लागेको छ । कूल २३७ कम्पनीको ३७ लाख ८३ हजार २४ कित्ता शेयर रु एक अर्ब ५२ करोड ४३ लाख ६४ हजार ४१८ बराबरको कारोबार भयो ।

नेप्सेका अनुसार कारोबार भएका १३ उपसमूहमध्ये होटल तथा पर्यटन ३.१४ अङ्कले उकालो लागेको बताइएका छन् । बैंकिङ १२.९४, व्यापार ४०.७८, विकास बैंक ७१.५७, जलविद्युत् ५२.९२, वित्त ४५.०५, निर्जीवन बीमा २३५.१२, उत्पादन ९९.७, अन्य ४८, लघुवित्त ५१.३७, जीवन बीमा २१४.२३, सामूहिक लगानी ०.१९ र लगानी १.६२ अङ्कले ओरालो बताएका छन् ।

कारोबारका आधारमा हिमालयन डिस्ट्रिलरी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको ५ करोड ७५ एक हजार ५५० बराबरको कारोबार भएको छ । नबिल बैंक ४ करोड ३४ लाख ८ हजार ४६३, शिवम् सिमेन्ट ३ करोड ८८ लाख ३० हजार ५६१, नेपाल पूर्वाधार बैंक ३ करोड ७० लाख ९३ हजार ४५५ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ ।

नेप्सेका अनुसार नेस्डो समृद्धि लघुवित्त १०, एनआइसी एशिया सेलेक्ट फण्ड ३.५३, प्राइम बैंकको ऋणपत्र २, नेपाल इन्भेस्टमेन्ट बैंक २ र मञ्जुश्री फाइनान्सको ऋणपत्रका लगानीकर्ताले १.९९ प्रतिशतले कमाएका छन् । इमर्जिङ नेपाल ६.५९, न्यादी हाइड्रोपावर ६.०७, घलेम्दी हाइड्रो ५.९०, राष्ट्र उत्थान लघुवित्त ५.३६ र हिमाल दोलखा हाइड्रोपावरका लगानीकर्ताले ५.३४ प्रतिशतले गुमाएका छन् ।