१३ विद्यालयमा विभिन्न संरचना निर्माण

काठमाडौँ । झापा जिल्लामा १३ विद्यालयमा संरचना निर्माण गरेको छ । नारी कल्याण समाज अर्जुनधाराले झापाका दुई पालिकाकामा १३ विद्यालयमा विभिन्न संरचना निर्माण गरेको छ ।

समाजले कचनकवल गाउँपालिकाका नौ र झापा गाउँपालिकाका चार सामुदायिक विद्यालयमा १ करोड ९० लाख बराबरको संरचना निर्माण गरेको छ । ‘गुड नेभर्स इन्टरनेशनल नेपाल’को आर्थिक तथा प्राविधिक सहयोगमा संरचना निर्माण गरेको समाजकी अध्यक्ष प्रेमाकुमारी भट्टराईले जानकारी गराएका छन् ।

कचनकवल ५ पाठामारीको जानकी आधारभूत विद्यालयमा दुईकोठे पक्की भवन, महिनावारी तथा अपाङ्गमैत्री शौचालय, बालमैत्री खानेपानीको धारा जडान गरिएको छ । कचनकवल ४ को महेन्द्ररत्न मावि, कचनकवल २ को लक्ष्मीप्रसाद देवकोटा मावि, कचनकवल १ को बुद्ध मावि, कचनकवल ७ को जानकी मावि, जनता मावि र शिव मावि तथा कचनकवल ३ को सरस्वती आधारभूत विद्यालयमा शौचालय, खानेपानीको धारा जडान र मर्मत गरिएको छ ।

कचनकवलका विद्यालयको संरचना निर्माणमा १ करोड ३५ लाख खर्च भएको अध्यक्ष भट्टराईले बताएको छ । झापा गाउँपालिकाको १० लाख र गुड नेभर्स इन्टरनेशनल नेपालको ५५ लाखको लागतमा झापा २ स्थित कुवाडीदेवी माविमा दुईकोठे पक्की भवन, शौचालय र खानेपानीको धारा जडान, ५ नं वडाको महेन्द्र माविमा शौचालय, खानेपानीको धारा जडान तथा वडा नं ३ को सिमलबाडी आधारभूत विद्यालय र वडा नं १ को सरस्वती आधारभूत विद्यालयमा खानेपानीको धारा जडान गरिएको छ । ती संरचना निर्माणपछि समाजले सम्बन्धित विद्यालयलाई हस्तान्तरण गरेको छ ।