चितुवाको छालासहित चार जना पक्राउ

काठमाडौँ । बूढानीलकण्ठबाट दुलर्भ वन्यजन्तु चितुवाको छालासहित चार जनालाई नेपाल प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा धादिङको गजुरी गाउँपालिका ५ का २४ वर्षीय विनोद श्रेष्ठ , गुल्मीको चन्द्रकोट गाउँपालिका ७ का ३५ वर्षीय विष्णु सुनार, ओखलढुङ्गाको खिजिघोम्बा गाउँपालिका ९ का २९ वर्षीय फुरी शेर्पा, र सिन्धुलीको कमलामाई नगरपालिका ४ का ३० वर्षीय विकास पुर्कुटीलाई शुक्रबार पक्राउ गरी महानगरीय प्रहरी प्रभाग बूढानीलकण्ठबाट खटिएको प्रहरी टोलीले चितुवाको छालासहित आज सार्वजनिक गरेको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक दिनेशराज मैनालीले बूढानीलकण्ठ नगरपालिका ८ गल्फुटारस्थित लक्ष्मीप्रसाद गिरीले सञ्चालन गरेको पूर्वपश्चिम गेष्ट हाउसबाट उनीहरुलाई पक्राउ गरिएको जानकारी दिएका छन् । पक्राउ परेका उनीहरुले द नर्थ फेस’ लेखेको नीलोकालो झोलाभित्र सेतो बोराले बेरेर चितुवाको छाला बिक्रीवितरण गर्न हिँडेका अवस्थामा पक्राउ गरिएको प्रहरीले बताएका छन् ।

प्रहरीले पक्राउ परेकासँग लम्बाइ पुच्छरसहित ४ , ३ फिट र चौडाइ २ फिट भएको चितुवाको छाला १ थान, लम्बाइ पुच्छरसहित ६।९ फिट र चौडाइ ३ फिट भएको चितुवाको छाला १ थान, छालाविनाको चितुवाको टाउको १ थान, ओपो मोबाइल ३ थान र सामसुङ कम्पनीको मोबाइल १ थान बरामद गरेको प्रहरीले बताएका छन् ।

पक्राउ परेका चारैजनालाई आवश्यक अनुसन्धान गरी कारबाहीका लागि डिभिजन वन कार्यालय हात्तिसार काठमाडौँ पठाइएको प्रवक्ता मैनालीले जानकारी गराएको छ ।