किसानलाई कामको चटारो, नेताहरुलाई चुनावको

काठमाडौँ । म्याग्दी जिल्लाका किसानहरुलाई चुनावकोभन्दा, गहुँबाली भित्र्याउने, मकै छर्ने, गोडमेल गर्ने र कतैकतै चैते धान रोप्नेको बढी चिन्ता छ । कामभन्दा ठूलो चुनाव नहुने किसानहरुले बताएका छन् । समय भयो भने भोट हाल्न जानुपर्ला तर, भाषण सुन्ने र नेतासँग हिँड्ने फुर्सद मलाई छैन बगरफाँटका कृषक टीकाबहादुर कार्कीको बताएका छन् ।

वैशाख ३० मा हुने स्थानीय तहको चुनावको लागी म्याग्दीमा चुनावी सरगर्मी बढेको छ । राजनीतिक दल र नेता गाउँगाउँमा पुगेर टोल भेला गरिरहेका छन् । राजनीतिक दलका कार्यक्रममा मतदाता कम र नेता कार्यकर्ता नै बढी देखिन्छन् ।

गाउँमा कामको चटारो छ । गहुँ थन्क्याउने, मकै छर्ने, गोड्ने, हिउँदे तरकारी लगाउने, बार–थाँक्रा हाल्ने, सिँचाइका लागि पानीको जोहो गर्ने काममा किसानहरु व्यस्त रहेका छन् । राजनीतिक दलका नेता चुनावी प्रसारमा घरघर पुग्न थाले पनि किसानलाई भने उनीहरुलाई भेट्न र भलाकुसारी गर्न फुर्सद नभएको बताउँछन् । हाम्रा समस्या जस्ताका त्यस्तै छन्, सिँचाइ नभएर बाली मरेको छ, धारामा खानेपानी आउँदैन, चुनाव आउँछ, नेता आउँछन्, आश्वासन दिन्छन्, जान्छन् । बेनी नगरपालिका ३ तोराखेतका डिलबहादुर सापकोटाले भनेका छन् ।

शनिबार आँगनमा गहुँ चुट्दै गरेका सापकोटाले गाउँमा सडक र सञ्चारको विकास भए पनि कृषि क्षेत्रमा भने खासै उपलब्धि हुन नसकेको बताएको छ । अहिले तीन तहको सरकार छ । स्थानीय सरकार हाम्रो आफ्नै सरकार हुनुपर्नेमा किसानका लागि त्यस्तो महशुस हुन नसकेको सापकोटाले गुनासो गरेका छन् । समयमा मल बीउ पाइँदैन, सिँचाइको व्यवस्था छैन, असिना पानी, बाढीपहिरो र अन्य प्राकृतिक प्रकोपबाट बालीनालीमा क्षति पुग्दा समयमा नै उचित क्षतिपूर्ति पाइँदैन, त्यसैले चुनाव आए पनि हामीलाई कुनै रौनकले नछोएका किसानहरुले बताएका छन् ।

म्याग्दी जिल्लामा १ नगरपालिका र ५ गाउँपालिका गरी छ स्थानीय तहमा ४५ वडा कार्यलय छ । बेनी नगरपालिकाको ७ र ८ नम्बर वडाबाहेक अन्य सबै पालिका र वडा ग्रामीण क्षेत्र भएकाले ९० प्रतिशतभन्दा बढी मतदाता ग्रामीण क्षेत्र र कृषि पेशासँग आबद्ध रहेको स्थानीयले बताएका छन् ।

किसानहरुलाई चुनावप्रति वितृष्णा जाग्नुका कारण कामको व्यस्तता मात्रै नभएर कृषि र कृषकका हितका लागि विगतमा नेताले दिएको आश्वासन पूरा गर्न नसक्नु रघुगङ्गा गाउँपालिका ४ का चित्रबहादुर पुर्जाले बताएका छन् ।