ललिपप उद्योगबाट धेरै महिलालाई रोजगारी

काठमाडौँ । इलाम जिल्लामा निकै स्वादिलो मिठाइका रुपमा लिइने ललिपप उद्योगबाट धेरै महिलाहरुले रोजगारी पाएका छन् । इलामको कोसेली ललिपप धेरैको रोजाइँमा पर्दछ । दूधबाट बनेको ललिपप इलाम घुम्न आउने पर्यटकले घर फर्किदा कोसेलीका रुपमा लिएर जाने गर्दछन् । ललिपपसम्बन्धी उद्योग सञ्चालन गरेर इलामका महिलाहरु आत्मनिर्भर मात्र होइन धेरै महिला तथा पुरुषलाई रोजगारीसमेत पाइएको छ ।

महिला तथा पुरुष जागिरको खोजीमा कोही नेपालमा नै त कोही रोजगारी नपाएर वैदेशिक रोजगारीमा समेत जाने गर्दछन् । इलामकी दीपा गुरुङले धेरै महिलालाई रोजगारी दिएका छन् । सानो लगानीबाट सुरु गरेको ललिपप उद्योगबाट धेरै महिलालाई उनले रोजगारी दिन सफल भएका छन् । इलाम तिल्केनीकी गुरुङको दैनिकी अहिले निकै व्यस्त छ । ८ वर्ष पहिले उनले स्थापना गरेको ग्रिनसिटी ललिपप उद्योगमा अहिले ४६ महिलाले रोजगारी पाएका छन् ।

६ जनाबाट सुरु भएको उनको उद्योगमा अहिले ४६ महिलाले दैनिक काम गर्छन् । ५ लाखबाट सुरु भएको उनको उद्योगले अहिले वार्षिक ३५ लाखसम्म कमाइ हुँदै आएको बताएको बताए । बिहान ४ बजेदेखि राति अबेरसम्म उनी काममा नै व्यस्त हुने बताउदै उद्योगबाट ललिपप र बम्बैसन बन्ने सुनाउछन् । इलाममा मात्र सीमित ललिपप र बम्बैसन पछिल्लो समय काठमाडौँसम्म पुग्ने गरेको बताए ।

इलाम बजार नजिकै सुष्मा राईले पनि इलामेली ललिपप उद्योग स्थापना गरेका छन् । उनीले पनि ३४ जना कामदार राखेर सो उद्योग सञ्चालन गर्दै आएकी छिन् । ४ लाखको लागतबाट सुरु भएको व्यवसायबाट राम्रै आम्दानी हुने गरेको उनीले सुनाईन । थोरै लगानीबाट सुरु भएको उद्योगमा धेरै महिलाले रोजगारी पाएसँगै उनीहरु आत्मनिर्भरसमेत बन्दै गएका छन् । मिठाइका परिकारमा लेबल लगाउने, स्टिकर टाँस्ने, प्याकेजिङ गर्ने काममा महिलाहरुले रोजगारी पाएका छन् । गाउँबाट बालबच्चा पढाउन सदरमुकाम बसेका महिलासमेत सो उद्योगबाट स्वरोजगार बन्दै गएका छन् । उनीहरुले श्रीमान् वा आफन्तबाट पैसा माग्न नपर्ने गरेको बताएका छन् ।

ललिपप उद्योगमा दूधबाट खुवा तयार पारेपछि ललिपप बनाइन्छ । ललिपपसँगै बम्बैसन पनि तयार पारिन्छ । १५ वर्ष पहिले सामान्य रुपमा बिक्री हुने ललिपप पछिल्लो समय लोकप्रिय बन्दै गएको छ । दूध पकाउन चुलो बनाएर आगोबाट गरिँदै आएको भए पनि पछिल्लो समय विद्युतीय प्रविधिबाटसमेत दूध सुकाएर कुराउनी निर्माण गरिन्छ । दूध फटाएर छुर्पी, चिज, सेतो रसबरी लगायतका परिकारहरु बनाइने ललिपप उद्योग व्यवसायीहरुले बताएका छन् ।