घाम लाग्दा धुलो, पानी पर्दा हिलो, दुलेगौडा कोत्रे सडकखण्ड

काठमाडौँ । तनहुँको शुक्लागण्डकी नगरपालिकास्थित दुलेगौडा कोत्रे सडकखण्ड धुलाम्य भएपछि स्थानीयवासी आन्दोलित भएका छन् । शुक्लागण्डकी २ हलेदीमा सडक मरमत नहुँदा स्थानीयवासीले समस्या भोग्दै आएको बताएका छन् ।

पृथ्वीराजमार्गअन्तर्गत पर्ने उक्त सडकमा घाम लाग्दा धुलो र पानी पर्दा हिलो भएपछि स्थानीयवासीले सडक अवरुद्ध गरेर आन्दोलनमा उत्रिएको बताए । पटक–पटक सम्बन्धित निकायमा धुलो नियन्त्रणका लागि आग्रह गरे पनि कुनै चासो नदिएपछि बाध्य भएर आन्दोलनमा उत्रिनुपरेको स्थानीयवासी तीर्थराज खनालले बताएका छन् । स्थानीयवासीले शुक्रबार कोत्रेमा १५ मिनेट र शनिबार हलेदीमा ३० मिनेट राजमार्ग अवरुद्ध गरेका छन् ।

हामीले राज्यलाई तिर्नुपर्ने सब कर तिरेका छौँ, तर पनि हाम्रो माग पूरा हुँदैन, सधैँ धुलो खाएर बस्नुपरेको स्थानीयाको गुनासो छ ।
सडक डिभिजन कार्यालयमा विभिन्न मितिमा डेलिगेशन गएर सडक मर्मतको माग गरिए पनि सुनुवाइ नभएको स्थानीय युवा शङ्कर पन्तले जानकारी दिए । पृथ्वीराजमार्गअन्तर्गत मुग्लिन–पोखरा सडक विस्तारका लागि ठेक्का लागिसकेकाले सडक डिभिजनले केही गर्न नसक्ने बताएको पन्तले भने, सम्बन्धित निकायमा गयो, माग सुनुवाइ हुँदैन, आन्दोलन गर्नुको विकल्प नहरेको पन्तको भनाइ थियो ।

उक्त सडकखण्डमा धुलाम्य हुँदा स्थानीयवासीका अलवा राजमार्ग भएर यात्रा गर्ने सर्वसाधारणले पनि सास्ती भोग्दै आएका छन् । यस ठाउँको विभिन्न खण्डमा सडक भत्किँदा दुई पाङ्ग्र्रे सवारीहरु दुर्घटनामा पर्ने गरेका स्थानीयको गुनासो छ ।