एक सय ९ जनाले उम्मेदवारी फिर्ता लिए

काठमाडौँ । वैशाख ३० गते हुन गइरहेको स्थानीय तहको निर्वाचनमा धनुषाजिल्लाको प्रमुखका चार उम्मेदवारसहित १०९ जनाले उम्मेदवारी फिर्ता लिएका छन् । जिल्लामा प्रमुख, अध्यक्ष, उपाध्यक्ष, वडाध्यक्ष र सदस्य गरी कूल १०९ जनाले उम्मेदवारी फिर्ता लिएको जिल्ला निर्वाचन अधिकृतको कार्यालयले जानकारी दिएको छ ।

धनुषामा एक उपमहानगर, ११ नगरपालिका र छ गाउँपालिका गरी कूल १८ स्थानीय तहमध्ये उपमहानगरका प्रमुख पदका दुई, नगरपालिकाका दुई प्रमुख र गाउँपालिकाका एक अध्यक्ष पदका उम्मेदवारसहित १०९ जनाले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ ।

मुख्य निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जनकपुरधाम उपमहानगरमा उम्मेदवारी दिएकामध्ये प्रमुखका दुईसहित १५ ले उम्मेदवारी फिर्ता लिएको जानकारी दिए । प्रमुख पदमा उम्मेदवारी दिएका वैद्यनाथ साह, नन्दकुमार भगत, उपप्रमुखका उम्मेदवार विश्वनाथ साह सुडी तथा ११ जना वडाध्यक्ष र एक सदस्य पदले मनोनयन फिर्ता लिएका ्बताए । मिथिला नगरमा प्रमुखका २ उम्मेदवार र ११ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत दीपक धितालले बताए । उनका अनुसार प्रमुखमा हरिनारायण महतो र चन्देश्वर महतोले उम्मेदवारी फिर्ता लिएको हो । वडाध्यक्षका ५ र वडा सदस्यका ४ जनाले उम्मेदवारी फिर्ता लिएका छन् ।

हंसपुर नगरमा एक सदस्य र एक दलित सदस्यसहित दुई, सबैला नगरमा छ वडाध्यक्ष र एक वडा सदस्यले उम्मेदवारी फिर्ता लिएको स्थानीय तहका निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ । क्षीरेश्वरनाथ नगरमा वडाध्यक्षका तीन, सदस्यका चार, दलित महिला सदस्य दुई र महिला सदस्य एक गरी दशजनाले र सहिदनगर नगरमा वडाध्यक्षका १, सदस्यका २, दलित सदस्य २ र महिला सदस्य दुईले उम्मेदवारी फिर्ता लिएको जनाइएको छ ।

गणेशमान चारनाथ नगरमा भने तीनले उम्मेदवारी फिर्ता लिएका छन् । बटेश्वर गाउँपालिकामा १ अध्यक्ष, १ वडाध्यक्ष तथा दलित महिला सदस्यका एक उम्मेदवारले फिर्ता लिएको निर्वाचन अधिकृतको कार्यालयले जानकारी गराएको छ ।