लोकतान्त्रिक, वामपन्थी गठबन्धन इतिहासको लामो कालखण्ड हो : माधव नेपाल

काठमाडौँ । स्थानीय तहको चुनावी सभामा नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पाँच दलीय गठबन्धनले जनताको विश्वास जित्दै आएको दाबी गरेका छन् ।

पाँच दलीय गठबन्धनद्वारा आज पोखरामा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले अहिलेको लोकतान्त्रिक र वामपन्थी गठबन्धन इतिहासको लामो कालखण्डमा खारिँदै आएको र प्रत्येक मोडमा आफ्नो विचार र व्यवहारबाट नै जनताको विश्वास जित्दै आएको उल्लेख गरेका छन् ।

गठबन्धन गरेर हामीले राम्रो र सही काम गरेको अध्यक्ष नेपालको भनाई रहेको छ । कांगेस र कम्युनिष्ट मिलेर नै २००७ र विसं २०४६ सालको परिर्वतन गरेका हौँ । विसं २०६२ को जनआन्दोलन सफल पारेर गणतन्त्र स्थापना गर्दै संविधानसभाको चुनाव र संविधान निर्माण गरेर घोषणा पनि गठबन्धनबाट नै सम्भव भएको हो । पूर्वप्रधानमन्त्रीसमेत रहेका अध्यक्ष नेपालले नेकपा एमालेका अध्यक्ष केपी ओलीले दक्षिणपन्थी र संविधान विरोधी गठबन्धन गर्दैै दुई÷दुई पटक संविधानको गलत व्याख्या गरेर प्रधानमन्त्रीको अधिकारको दुरुपयोग गरेर संसद् विघटन गरेको आरोप लगाएका छन् ।

पोखाराको फेवाताललाई जोगाउने र अतिक्रमण हटाउनु आवश्यक रहेको अध्यक्ष नेपालले स्पष्ट पारेको छ । उनले तालको अतिक्रमण नहटाउँदासम्म पोखराको आफ्नो पहिचानलाई जोगाउन नसकिने समेत उल्लेख गरेका छन् । संसारलाई आकर्षित गर्नसक्ने पोखरा महानगरको प्रमुख÷उपप्रमुख पद धेरै महत्वपूर्ण रहेको बताइएका छन् ।

अध्यक्ष नेपालले पोखरालाई पर्यटकीय नगरमा विकास गर्ने, तालतलैयाको संरक्षण र बस्तीलाई राम्रो बनाउने, रोजगारी प्रवद्र्धनसहित शिक्षा, र स्वास्थ्यका क्षेत्रमा विकासका लागि गठबन्धनका उम्मेदवारलाई विजयी गराउन आग्रह गरेका छन् । भ्रष्टाचार नगर्ने, सुशासनको प्रवद्र्धन, जनताको मन जित्ने, विश्वास जित्ने र जनतासँग निरन्तर भेटघाट गरिरहन समेत अध्यक्ष नेपालले उम्मेदवारलाई सुझाव दिइएका छन् ।