स्थानीय तह निर्वाचनमा घर फर्कनेको भिड

काठमार्डौ । शुक्रबार हुन गई रहेको स्थानीय तहको निर्वाचनका लागि काठमाडौं उपत्यकामा बसोवास गर्ने मतदाताहरु आ–आफ्नो उम्मेदवारलाई मतदान गर्नका लागि गाउँतर्फ गएका छन् । बुधबार विहानैदेखि काठमाडौंबाट बाहिर जानेको भीड लागेको हो ।

निर्वाचन आयोगले मंगलबार मध्यराती देखिनै मौनअवधि लागु गरेको छ भने शुक्रबार देशभर यातायात ठप्प हुने भएपछि मतदाताहरु घर जान बुधबार भीड लागेको हो । मतदातहरु उपत्यकाका कलंकी, बनेपा लगायतका ठाउँबाट विभिन्न जिल्लामा फर्कने क्रम बढेको छ ।

काभ्रेको वीपी र अरनिको राजमार्ग भएर तथा कलंकीबाट बाहिरिने यात्रुबाहक सानो तथा ठूला सवारीसाधन विभिन्न जिल्लामा फर्कने क्रम बढेको जिल्ला ट्राफिक प्रहरी कार्यालयले जानकारी गराएको छ ।

कतिपय नागरिक निजी गाडी तथा सार्वजनिक सवारी साधनमा जिल्ला गइरहेका छन् भने कतिपय नागरिक उम्मेदवार र राजनीतिक दलका झण्डा र चुनाव चिह्नसहित रिजर्व गाडीमा गइरहेका छन् ।

उपत्यका बाहिरका पूर्वी जिल्लाहरुसँगै तराइ जोड्ने बनेपा बर्दिवास विपी राजमार्गमा गाउँ फर्कनेहरुको संख्या बढेका कारण सडकमा सवारी साधनको चाप बढेको हो । मतदाता नामावली जिल्लामा रहेकाले यही वैशाख ३० गते हुने मतदानमा मताधिकार प्रयोगका लागि उपत्यका छाडेका उनीहरूले बताएका छन् ।