रिभर फल्स पावरको आइपिओ निष्कासन तथा बिक्री खुला

काठमाडौँ । आजदेखि रिभर फल्स पावर लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गरेको छ । कम्पनीले प्राथमिक सार्वजनिक निष्काशन आइपिओको बिक्री खुला गरेको हो । सर्वसाधारणका लागि कम्पनीले प्रतिकित्ता १ सय अङ्कित दरमा २७ लाख ३० हजार कित्ता शेयर बिक्री गर्ने प्रयोजनका लागि दरखास्त आह्वान गरेको छ ।

कम्पनीका अनुसार २७ लाख ३० हजार कित्ता शेयरमध्ये दुई प्रतिशत अर्थात ५४ हजार ६०० कित्ता कम्पनीका कर्मचारी र पाँच प्रतिशत अर्थात एक लाख ३६ हजार ५०० कित्ता सामूहिक लगानी कोषलाई छुट्याई बाँकी रहेको २५ लाख ३८ हजार ९०० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सक्नेछन् ।

आजदेखि छिटोमा आगामी जेठ ४ सम्म न्यूनतम १० कित्तादेखि अधिकतम १ लाख कित्तासम्म निष्काशित शेयरमा लगानिकर्ताले आवेदन दिन पाउने छन् । यो समयमा माग बमोजिम आवेदन नआए आगामी जेठ ११ गतेसम्म निष्कासन खुला गरेको कम्पनीले जानकारी दिइएको छ ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृत प्राप्त गरेका सम्पूर्ण सी आस्बा सदस्य बंैक तथा वित्तीय संस्था र तीनका शाखा कार्यालयका साथै अनलाइनमार्फत ‘मेरो शेयर’ प्रयोग गरेर शेयर खरिदका लागि आवेदन दिन सकिने कम्पनीको सार्वनजिक सूचनामा उल्लेख छ ।

सङ्खुवासभाको धर्मदेवी नगरपालिकास्थित पिलुवा खोलाको पानी प्रयोग गरेर १० दशमलव ३० मेगावाट क्षमताको पिलुवा खोला साना जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । आयोजनाको अनुमानित प्रति मेवा लागत १८ करोड ६ लाख १५ हजार रहने कम्पनीले जानकारी गराएको छ । कम्पनीलाई केयर रेटिङ्ग संस्था केयर नेपाल लिमिटेडले केयर एनपी बीबी माइनस इस्युअर रेटिङ्ग प्रदान गरेको छ ।

कम्पनीले आयोजना प्रभावित क्षेत्र सङ्खुवासभा जिल्लाका बासिन्दाका लागि साधारण शेयरको निष्काशन र बाँडफाँटसमेत गरिसकेको छ । कम्पनीको धितोपत्र निष्काशन तथा बिक्री प्रबन्धक प्रभु क्यापिटल लिमिटेड रहेको छ ।