मतदान सुरुहुन केही समय बाकी हुँदा, मतदानस्थल नै परिवर्तन

काठमाडौँ । सप्तरीमा शुक्रबार हुने स्थानीय तह निर्वाचनको मतदानस्थल परिवर्तन गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सप्तरीका अनुसार चार मतदान केन्द्र रहेको विष्णुपुर गाउँपालिकास्थित गाविस भवन जमुनी मधेपुराबाट मतदानस्थल फेरिएको छ । मतदानस्थललाई शारदा मावि जमुनी मधेपुरामा सारिएको जिल्ला निर्वाचन अधिकारी रमेश जोशीले जानकारी दिइएका छन् । उनका अनुसार पुरानो ठाउँबाट उक्त मतदानस्थल एक सय मिटरको दूरीमा सारेको बताए ।

पहिले तोकिएको मतदानस्थलमा स्थान अभावका कारण मतदान गर्न ज्यादै असहज हुने भएकाले निर्वाचन अधिकृतको कार्यालयमा बसेको सर्वदलीय बैठकले नयाँ स्थल कायम गरेको निर्वाचन अधिकृत यादवप्रसाद न्यौपाने बताएका छन् ।

जिल्लामा स्थानीय तहको निर्वाचनका लागि २९७ मतदानस्थल निर्धारण गरिएको छ । २०८ अतिसंवेदनशील, ८५ संवेदनशील र चार मतदानस्थल सामान्य रहेको छ । जिल्लाको ९ नगरपालिका र ९ गाउँपालिकाको २९७ मतदानस्थलमा व्यवस्था गरिएको ५३६ मतदान केन्द्रका लागि ५३६ मतदान अधिकृत र यतिकै सङ्ख्यामा सहायक मतदान अधिकृत खटिएका छन् ।

मतदान अधिकृत, सहायक मतदान अधिकृत, सहायक कर्मचारी र कार्यालय सहयोगीहरु मतपत्र, मतपेटिकालगायत निर्वाचन सामग्री लिएर आ–आफ्नो मतदान केन्द्रमा हिँडिउका मुख्य निर्वाचन अधिकृत चन्द्रमणि ज्ञवालीले जानकारी दिइएका छन् ।