मतपेटिका बोकेको गाडी साँघुटारको बाँकिमैरीमा दुर्घटना

काठमाडौँ । रामेछापमा मतपेटिका बोकेको गाडी दुर्घटना भएको छ । रामेछाप नगरपालिका १ गोठगाउँ वडा कार्यालय मतदान केन्द्रको मतपेटिका ढुवानीमा प्रयोग भएको ट्रक साँघुटारको बाँकिमैरीमा शुक्रबार साँझ दुर्घटनामा परेको छ ।

दुर्घटनामा परेर केही कर्मचारी र सुरक्षाकर्मी सामान्य घाइते भएका छन् । बा ७ ख ३५०४ नम्बरको ट्रक दुर्घटना हुँदा केही मतपेटिका च्यापिएका छन् । दुर्घटना हुँदा एउटा मतपेटिकाको शिल सामान्य फुटेको र अरुमा भने क्षति नभएको प्रहरी निरीक्षक राजुप्रसाद ढकालले बताए ।

दुर्घटना स्थलमा मुचुल्का तयार पारेपछि मात्र उक्त मतपेटिका उठाएर रामेछाप नगरपालिकाको निर्वाचन अधिकृतको कार्यालयमा पुर्‍याउने जानकारी गराएको छ ।