नयाँ बजेटमा आईपीओ आवेदन निशुल्क, करछली र ट्याक्स कार्ड बनाउ मन्त्रालयको सुझाव

काठमाडौँ । स्थानीय तह निर्वाचन सम्पन्न भए लगातै सरकारले जेठ १५ सम्म नयाँ बजेट ल्याउने गरी तयारी गरेको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७९ र ८० को बजेट निर्माणमा सघाउ पुगोस् भनेर सुझावका लागि टोल फ्री नम्बर ११३८ सञ्चालन गरिरहेको छ ।

अहिलेसम्म आएका सुझावहरूमा आईपीओ भर्दा लाग्ने शुल्कदेखि सबैलाई स्वास्थ्य निःशुल्कसम्मको माग रहेको छ । बजेटको लागी सर्वसाधारणलगायतले देशका विभिन्न ठाउँबाट सुझाव दिएका हुन् ।

सर्वसाधारणले बजेटका लागि दिएको सुझावमा इन्धन खपतलाई कम गर्न १० लाखभन्दा थोरै मूल्यका विद्युतीय सवारीसाधनको भन्सार छुटको व्यवस्था गर्नुपर्ने माग गरेको छ । विद्युतीय चुलोमा पनि भन्सार छुट माग बढ्दो रहेको छ ।

बजेट निर्माणको क्रममा सुझावको पनि अध्ययन गरेर समावेश गरिने तयारी गरिएको मन्त्रालयका अधिकारीले बताएका छन् । अर्थमन्त्री जनार्दन शर्माले सबै क्षेत्रका जनताको सुझाव सङ्कलन गर्ने उद्देश्यले टोल फ्री नम्बर सञ्चालनमा ल्याउन लगाएका हुन् ।