सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने चौधरीको निर्णय

काठमाडौँ । गत वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वातनमा निर्वाचित भएका प्रमुख उपप्रमुखले पाँच वर्षीय कार्यकालको जिम्मेवारी लिन थालेका छन् । बेलौरी नगरपालिकाका नवनिर्वाचित नगरप्रमुख पोतिलाल चौधरीले सुत्केरीलाई निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने निर्णय गरेको छ । पदभार ग्रहण गर्दै चौधरीले नगरपालिका क्षेत्रभित्र बसोबास गर्ने सुत्केरीलाई आकस्मिक अवस्थामा एम्बुलेन्स सेवा निःशुल्क रुपमा प्रदान गर्ने पहिलो निर्णय गरेको हो ।

सुत्केरीको घरदेखि नगरपालिकाअन्तर्गत रहेका स्वास्थ्य केन्द्र, सेती प्रादेशिक अस्पताल तथा महाकाली प्रादेशिक अस्पतालसम्म पु¥याउनका लागि निःशुल्क रुपमा एम्बुलेन्स उपलब्ध गराउने निर्णय गरिएको नवनिर्वाचित नगरप्रमुख चौधरीले बताएका छन् ।

चौधरी दोस्रो कार्यकालका लागि नगरप्रमुख पदमा निर्वाचित भएका छन् । उनले शिक्षा, स्वास्थ्य, कृषि, बजार व्यवस्थापनका कार्यलाई तदारुकताका साथ अगाडि बढाइने बताउदै पहिलो कार्यकालमा अधुरा रहेका योजनालाई पूर्णता दिने उनको भनाइ छ । नगर गौरवका नयाँ योजना कार्यान्वयनमा ल्याउनका लागि योजनाबद्ध रुपमा कार्य गर्ने बताए ।