१० अर्व बजेटले ६ सय ५५ स्थानीय तहमा अस्पताल निर्माण हुने

काठमाडौँ । सरकारले आगामी आर्थिक वर्ष २०७९–८० का लागि ६ सय ५५ स्थानीय तहमा आधारभूत अस्पताल निर्माण गर्ने भएको छ ।

अर्थमन्त्री जनार्दन शर्माले सङ्घीय संसद्मा आगामी आर्थिक वर्षको बजेट पेश गर्दै स्थानीय तहमा आधारभूत अस्पताल निर्माणका लागि रु १० अर्ब बजेट विनियोजन गरिएको जानकारी दिएका छन् ।

सरकारले यसपटक स्वास्थ्य क्षेत्रमा रु ६९ अर्ब ३८ करोड बजेट विनियोजन गरेको उनले संसदमा जानकारी गराएका छन् ।

दिगो विकास लक्ष्य प्राप्त गर्नका लागि नेपाल स्वास्थ्य क्षेत्र रणनीति २०७९–२०८७ कार्यान्वयन गरिने र पुराना, जीर्ण अवस्थामा रहेका स्वास्थ्य पूर्वाधारलाई नयाँ मापदण्डअनुसार निर्माण गर्नका लागि बजेट व्यवस्था गरिएको उल्लेख छ ।

पाँच वर्षमुनिका बालबालिकाको मृत्युदर घटाउन सुरक्षित मातृत्व, शिशु स्याहार, पोषण कार्यक्रम, खोप कार्यक्रमलाई थप प्रभावकारी बनाइने बजेटमा उल्लेख गरिएको छ ।