महिलाविरुद्ध हुने सबै भेदभाव नियन्त्रण गर्न सरकार प्रतिबद्ध छ : प्रधानमन्त्री देउवा

काठमाडौँ । प्रधानमन्त्री शेरबहादुर देउवाले महिलाविरुद्ध हुने सबै किसिमका भेदभावपूर्ण व्यवहारलाई नियन्त्रण गर्दै महिलाको समग्र उत्थान र विकासका लागि सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

राष्ट्रिय महिला अधिकार दिवसका अवसरमा सम्पूर्ण महिला दिदीबहिनीहलाई सम्मानपूर्वक व्यवहार गर्ने संस्कृतिको विकास गरी लैङ्गिक समानता र महिला सशक्तीकरणको लक्ष्य हासिल गर्ने सरकारको अभियानमा सबै एकजुट भएर लाग्न सम्पूर्ण देशवासीमा आह्वान गर्दै प्रधानमन्त्री देउवाले सबैमा शुभकामना व्यक्त गरेका छन् ।

शुभकामना व्यक्त गर्दै देवाले महिलाविरुद्ध हुने सबै किसिमका हिंसाजन्य कार्य र शोषणलाई कानुनले दण्डनीय हुने व्यवस्था गरेको उल्लेख गरेका छन् । साथै उनले राज्यका सबै निकायमा महिलाको समानुपातिक समावेशीतालाई सुनिश्चित भएको समेत बताएका छन् । आज जेठ १६ गते महिलाको सम्मान सभ्य समाजको पहिचान’ भन्ने राष्ट्रिय नाराका साथ चौथो राष्ट्रिय महिला अधिकार दिवस देशभर मनाइँदै छ ।

प्रधानमन्त्री देउवाले दिवसका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी, महिला अधिकारकर्मीलगायत महिला हक, अधिकारको संरक्षण र प्रवद्र्धनका क्षेत्रमा कार्य गर्नुहुने सम्पूर्ण व्यक्ति तथा सङ्घसंस्थामा शुभकामना व्यक्त गरेका छन् । लैङ्गिक समानता, न्याय र महिला विकासका लागि राज्यको तर्फबाट भएका नीतिगत, कानुनी, संरचनागत एवं प्रक्रियागत सुधारको फलस्वरूप अहिले राजनैतिक तथा प्रशासनिक क्षेत्रमा महिलाको प्रतिनिधित्व र सहभागिता उल्लेखनीय रूपमा वृद्धि भएको उनले उल्लेख गरेका छन् ।

नेपालको लैङ्गिक विकास सूचकाङ्कमा भएको सुधारबाट राज्यले महिला हक अधिकारको क्षेत्रमा अवलम्बन गरेका नीति र कार्यक्रमबाट राम्रो प्रतिफल प्राप्तः भएको मान्न सकिने प्रधानमन्त्री देउवाले बताएका छन् । नेपालको संविधानले महिलाउपर हुने सबै प्रकारका भेदभावको अन्त्य गर्दै समानुपातिक समावेशी एवं समतामूलक समाजको निर्माण गर्ने सङ्कल्प गरेको छ । संविधानले महिलाको हकलाई मौलिक हकको रूपमा स्थापित गरी महिलालाई लैङ्गिक भेदभावविना समान वंशीय हक, सुरक्षित मातृत्व र प्रजननसम्बन्धी हक पैतृक सम्पत्तिलगायत सबै विषयमा समान हक आदिको प्रत्याभूति गरेको छ ।

दिगो विकासका लागि पुरुष र महिलाको सक्रिय र अर्थपूर्ण सहभागिता अपरिहार्य हुने उल्लेख गर्दै उनले यस तथ्यलाई मध्यनजर गरी सरकारले राज्यको सबै तह र संरचनामा महिलालाई अधिकाधिक प्रतिनिधित्व गराउने नीति लिँदै आएको बताए । नेपाल सरकारले लैङ्गिक विभेद तथा हिंसाका घटनालाई जरैदेखि निर्मूल गर्न शून्य सहनशीलताको नीति लिई कार्य गर्दै आएको बताउँदै प्रधानमन्त्री देउवाले आगामी दिनमा यस नीतिलाई अझ प्रभावकारी कार्यान्वयन गरिने दृढता व्यक्त गरेका छन् ।