काठमाडौँ महानगरपालिकाका प्रमुख, उपप्रमुखसहित १ सय ६० जनप्रतिनिधिले लिए शपथ

काठमाडौँ । काठमाडौँ महानगरपालिकाका नवनिर्वाचित जनप्रतिनिधिले पद तथा गोपनीयताको शपथ लिएका छन् । मुख्य निर्वाचन अधिकृतको कार्यालय राष्ट्रियसभा गृहमा आज आयोजित कार्यक्रममा मुख्य निर्वाचन अधिकृत राजुकुमार खतिवडाले प्रमुखमा निर्वाचित बालेन्द्र साहलाई शपथ गराएका ह्ुन् ।

सो लगत्तै प्रमुख साहले उपप्रमुखमा निर्वाचित सुनिता डङ्गोल, ३२ वटै वडाका वडाध्यक्ष र वडा सदस्यलाई शपथ गराएको थियो । उपप्रमुख डङ्गोलले नेपाल भाषामा शपथ लिएकी थिइन । प्रमुख साहले पनि मुख्य निर्वाचन अधिकृतबाट शपथ लिएपछि नेपाल भाषामा शपथको व्यहोरा पढ्ेका थिए ।

गत वैशाख ३० गते सम्पन्न निर्वाचनबाट प्रमुखमा स्वतन्त्र उम्मेदवार साह र उपप्रमुखमा नेकपा एमालेका सुनिता डङ्गोल निर्वाचित भएकी छन् । प्रमुख साह र उपप्रमुख डङ्गोलले आजै पदवहाली गर्ने कार्यक्रम रहेको छ । सो अवसरमा मुख्य निर्वाचन अधिकृत खतिवडाले जनताले दिएको मतलाई शिरोधार्य गरेर जनताको सेवा गर्न आग्रह गरेका छन् ।

महानगरको अन्तिम मतपरिणाम गत शुक्रबार मात्रै सार्वजनिक भएको थियो । वडा २४ र २५ मा दलित महिला सदस्यको उम्मेदवारी नै परेन । कामपाको प्रमुख पदमा विभिन्न दल र स्वतन्त्र गरी ५६ र उपप्रमुखमा ३५ जनाको उम्मेदवारी परेको थियो । कामपाको ३२ वडामध्ये १९ वडामा नेपाली कांग्रेस र १२ वडामा एमाले विजयी भएको छ । एक वडामा नेकपा एकीकृत समाजवादी विजयी भएको छ ।

तीन लाख २ सय ४२ मतदाता रहेको कामपामा करिब १ लाख ९० हजार ९ सय ६२ मत खसेको थियो । सात हजार ६ सय ८२ मत पूर्ण बदर भएको निर्वाचन कार्यालयले जनाएको छ ।