राष्ट्रियसभामा बजेट छलफल, बजेटले जनतालाई सपना मात्र देखाएको : सांसद भट्टराई

काठमाडौँ । आर्थिक वर्ष २०७९/८० को राजस्व र व्ययको वार्षिक अनुमान बजेट माथि सुरु भएको छ । सैद्धान्तिक छलफलमा नेपाल कम्युनिष्ट पार्टी एमालेका सांसद खिमलाल भट्टराईले सरकारले ल्याएको ठूलो आकारको बजेटले जनतालाई सपना मात्र देखाएको टिप्पणी गरेको छ ।

उनले लक्ष्य र आधारबिना बजेट विनियोजन गरेर कसरी कार्यान्वयन हुन्छ भनी प्रश्न समेत गरेका छन् । सङ्घीयतालाई बलियो बनाउनेगरी ठोस् रुपमा बजेट नआएको र प्रदेश सरकारलाई प्राथमिकता नदिएको भट्टराईको भनाइ रहेको छ ।

उनले प्रदेश र स्थानीय तहमा विनियोजन भएको बजेटमा वित्तीय मितव्ययिता नदेखिएको तथा बजेटको आकार बढाइए पनि पूँजीगत खर्च घटेको बताएका छन् । उत्पादनमा गिरावट, सात प्रतिशतले महँगी बढ्नुले मुलुकलाई आर्थिक सङ्कटतर्फ धकेलको आशङ्का व्यक्त गर्दै सांसद भट्टराईले पूँजीगत खर्च गर्ने क्षमता नबढाइकन आर्थिक वृद्धि गर्ने कुरा सम्भावना नरहेको जिकिर गरेका छन् । 

नेपाली कांग्रेसका सांसद रमेशजङग रायमाझीले बजेटले कृषि, स्वास्थ्य, शिक्षा, पर्यटन, रोजगारीलगायत विषयलाई प्राथमिकता दिएको जनाउँदै कार्यान्वयनमा सहयोग गर्न आग्रह गरेका छन् । उनले हरेक वर्ष बजेटप्रति सत्ता र प्रतिपक्षबीच पक्ष र विपक्षमा जुहारी चल्ने गरेको भन्दै बजेटको प्रभावकारी कार्यान्वयनका लागि समन्वय र सहकार्य जरुरी भएको उल्लेख गरेका छन् । 

नेपाल कम्युनिष्ट पार्टी एकीकृत समाजवादीका सांसद जयन्तीदेवी राईले बजेट निरन्तरतामुखी भएको बताउँदै नीतिगत भ्रष्टाचारको अन्त्य, मूल्यवृद्धि नियन्त्रण गर्नेगरी बजेट आउन नसकेको टिप्पणी समेत गरेका छन् । जनता समाजवादी पार्टीका सांसद मोहम्मद खालिदले प्रादेशिक र सङ्घीयतालाई मजबुत तथा संस्थागत गर्नेगरी बजेट आएको बताएका छन् । 

नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका सांसद उर्मिला अर्यालले प्रत्येक वडा कार्यालयमा ज्येष्ठ नागरिक क्लब स्थापना गर्न माग गरे । उउले मुलुकभित्र बढ्दो हवाई दुर्घटना नियन्त्रण तथा हवाई उडानलाई व्यवस्थित र सुरक्षित बनाउन सरोकारवालाको ध्यानाकर्षण गराएका छन् ।