अर्थमन्त्री शर्माको जवाफ : हरेक क्षेत्रको मार्गनिर्देशनको दस्तावेज हो ‘बजेट’

काठमाडौँ । नेपाल सरकारद्धारा २०७९र८० को बजेटमाथि सङ्घीय सांसद्का दुवै सदनमा छलफल कार्य जारी छ । छलफलका क्रममा बजेटप्रति सत्तापक्षका सांसदहरूले बजेटको बचाऊ गर्दै आफ्ना धारणा राखेका थिए । विपक्षी दलका सांसदहरूले बजेट व्यावहारिक नभएको तथा कार्यान्वयनमा हुन नसक्नेजस्ता टिप्पणी राख्दै आलोचना गरेका थिए ।

अर्थमन्त्री जनार्दन शर्माद्वारा यही जेठ १५ गते प्रस्तुत बजेटमा सांसदहरूले राखेका सैद्धान्तिक प्रश्नको आज राष्ट्रियसभामा सकारको तर्फबाट उनले जवाफ दिएका छन् । सांसदहरूबाट आएका टिप्पणीको जवाफ दिने क्रममा उनले गरिब, उत्पीडित जनता, अर्थशास्त्री, बुद्धिजीवी र आम राजनीतिक पार्टीको मार्ग निर्देशनलाई बजेटमा आफूले प्रस्तुत मात्रै गरेको उल्लेख गर्दै विरोधका लागि विरोध गर्ने मान्यताबाट मुक्त भएर अघि बढ्न आग्रह गरेका छन् ।

बैठकमा बजेटमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै उनले बजेट कस्तो लाग्यो भन्ने कुरा आआफ्नो खालको टिप्पणी हुने भए पनि सरकारबाट प्रस्तुत भएको नीति तथा कार्यक्रम र तल्लो तहबाट आएको सुझावकै आधारमा बजेट ल्याइएको स्पष्ट पारे । उनले बजेटमा केही त्रुटि हुनसक्ने भन्दै राम्रा पक्षका विषयमा पनि ध्यान जानुपर्नेमा जोड दिँदै यसपाली बजेट ९.६८ प्रतिशतले वृद्धि गरिएको बताए ।

सांसदहरुले मुलुकको निजी क्षेत्र एवं अर्थ विज्ञबाट सरकारले आगामी आवका लागि ल्याएको बजेट सकारात्मक रहेको प्रतिक्रिया दिएका थिए । बजेटमा कृषि, उत्पादन, प्राविधिक प्रशिक्षणमा जोड, स्वरोजगार बनाउने, ऋण दिने, औद्योगिक जमिन नहुनेलाई भाडामा जमिन दिनेलगायत कार्यक्रम समावेश गरेको छ । बजेटले बीउ पुँजी तथा कृषि औजार, शिक्षादिक्षामासमेत प्राथमिकता दिएको छ । आवास नहुनेलाई आवास दिने कुरा स्पष्टरुपमा बजेटमा आएको छ ।

मुलुक सङ्कटका अवस्थामा रहेका बेला बजेटले सम्बोधन नगरेको भनेर सांसदहरूबाट आलोचना आएका सन्दर्भ कोट्याउँदै अर्थमन्त्री शर्माले भने मुलुक सङ्कटमा भए पनि यसको समाधान यही हो छैन भने पनि समाधान यही हो ।” उत्पादन र उत्पादकत्व वृद्धिका लागि मुलुकमा भएको अधिकतम स्रोतसाधन परिचालन गर्नुपर्नेमा जोड दिँदै उनले भने प्रविधिलाई विश्व बजारबाट लिने हो, कृषि उत्पादनको परम्परागत अवस्था छ, त्यसलाई यात्रीकरण, व्यावसायीकरण र रुपान्तरण गर्ने कुरामा जोड दिइएको छ ।

अर्थमन्त्रीका अनुसार उद्योग बनाउनका लागि पनि कृषिकै आवश्यकता हुन्छ । आयात प्रतिस्थापनका लागि पनि कृषि नै चाहिन्छ । अहिले उत्पादनतर्फ निरासा देखिएकाले बजेटले आशावादीमा परिणत गर्न खोजेको छ । नागकिरलाई उत्साहित गर्दै कृषि क्षेत्रमा लाग्नुपर्छ भनेर सन्देश दिनेगरी बजेट आएको उहाँले दाबी गर्नुभयो । यसका लागि भने तीनै तहको सहकार्यमा मात्रै काम गरिने र मुख्य गरी स्थानीय सरकारलाई बढी जिम्मेवारी दिइने कुरा स्पष्टरुपमा उल्लेख भएको बताए ।


उनका अनुसार नेपालमा अहिले अनुसन्धानविनाका कृषि कार्यक्रम छन् । हाम्रा बीउ अन्य मुलुकमा पुगिसकेको छ । त्यसलाई अरुले ब्राण्ड बनाउने अवस्था रहेकाले आफ्नो उत्पादनको रक्षाका लागि रुपान्तरण गर्न खोजिएको र आजको सङ्कट समाधानका लागि कृषिको विकल्प नै नभएकाले नीति तथा कार्यक्रम र बजेटमा पनि त्यही कुरा स्पष्ट पारिएको छ ।

उद्योग विकासका सन्दर्भमा जवाफ दिँदै उनले अर्थतन्त्रमा योगदान बढाउन उद्योग वृद्धि गर्नुपर्ने आवश्यकता औँल्याएका छन् । त्यसका लागि उद्योगका केही सम्भावना बजेटले देखेको उनले बताए । अर्थमन्त्री शर्माले निकासीका लागि बजेटले अनुदान नभई प्रोत्साहन दिने कुरा गरेको बताउदै गाउँमा मसला वा खुर्सानी पिस्नेदेखि साना, मझौला उद्योग किन नहोस्, थोरै प्रोत्साहन दिनेवित्तिकै निकासीको प्रक्रिया सुरु हुने सम्भावना तथ्यमा आधारित रहेको जिकिर गरेका छन् । उनले जस्तापाता, जुत्ताजस्ता वस्तु कम मूल्यमा उत्पादन गर्ने वातावरण सिर्जना गरिदियो भने निर्यातको सम्भावना रहने भएकाले नै निजी क्षेत्रलाई विकासको इञ्जिन भनिएको समेत प्रष्ट्याएका छन् ।

मन्त्री शर्माले  बजेट बनाउँदा दिमागमा चुनाव भन्ने कुरै नआएको तर संसद्मा आएपछि मात्रै सुनेको बताए । अर्थमन्त्री शर्माले अहिलेको समस्या समाधान कसरी गर्ने रोजगारी कसरी सिर्जना गर्ने भन्नेमा बजेट केन्द्रित रहेको पनि दाबी गरे । प्रधानमन्त्री रोजगार कार्यक्रम राम्रो नभएका अवस्थामा त्यहाँका बेरोजगारलाई समेत राखेर कृषिमा आधारित क्षेत्रमा लगाउने गरी कार्यक्रम प्रक्षेपण गरिएको बताउँदै मन्त्री शर्माले सरकारसँग किसान भनेर किसान पेन्सन सुरु गर्नु किसान भनेको सम्मानित पेशा हो भनेर दबिएका उनीहरूका मन उठाउने प्रयास गरिएको दाबी समेत गरे ।