स्थानीय तहमा २ सय १७ महिला जनप्रतिनिधि

काठमाडौँ । गत वैशाख ३० मा सम्पन्न भएको स्थानीय तह निर्वाचनमा दाङ जिल्लामा दश वटा स्थानीय तहका एक सय वडामा प्रमुख पदमा कोही पनि महिला निर्वाचित भएका छैनन् । जिल्लामा ८ सय ७२ महिलाले चुनावी प्रतिस्पर्धामा भाग लिएका थिए । प्रमुख पदका लागि १०, उपप्रमुखमा ४६, वडाध्यक्षमा १९, महिला सदस्यमा ३९५, दलित सदस्यमा ३ सय ५५ र खुला सदस्यमा ४७ महिला उम्मेदवार बनेका थिए ।

प्रदेश निर्वाचन कार्यालयका अनुसार प्रमुख पदमा निर्वाचित नभए पनि उपप्रमुख, उपाध्यक्ष, महिला सदस्य, दलित महिला सदस्य र खुला सदस्य गरी २ सय १७ महिला निर्वाचित भएको छ । उपप्रमुखमा ३ जना , उपाध्यक्षमा ६, महिला सदस्यमा १००, दलित महिला सदस्यमा १०० र खुला सदस्यमा ८ महिला उम्मेदवार निर्वाचित भएको निर्वाचन अधिकारी नारायण भण्डारीले जानकारी दिएका छन् ।

दुई उपमहानगरपालिका र पहाडी गाउँपालिका बङ्गलाचुलीमा गठबन्धनबाट प्रमुख र उपप्रमुखमा महिलालाई उम्मेदवार बनाइएको थिएन । नेकपा एमालेले ती सबै ठाउँमा महिलालाई उपप्रमुखमा उम्मेदवार बनाएको थियो । जिल्लाका १० स्थानीय तहको प्रमुख र उपप्रमुख, वडाध्यक्ष, दलित, महिला र खुला सदस्यमा गरी कूल २ हजार २ सय ७ उम्मेदवार चुनावी मैदानमा उत्रिएका थिए ।