षड्यन्त्रकारीले लोकतान्त्रिक गठबन्धन तोड्न अनेक भ्रम फैलाएको पूर्वप्रधानमन्त्रीको आरोप

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम एकता सम्भव नरहेको बताएका छन् । अहङ्कारी र षड्यन्त्रकारीहरूले वर्तमान वाम लोकतान्त्रिक गठबन्धन तोड्न अनेक खाले भ्रमहरु फैलाइएको आरोप लगाएको छ । उनले भने हामीमा कुनै पदको लालचा छैन, षड्यन्त्रकारीको भ्रमलाई सजिलै परास्त गर्न सक्छौँ ।

अध्यक्ष नेपालले सुर्खेतमा आज आयोजित पत्रकार भेटघाट कार्यक्रममा उनले नेकपा एमाले, नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीबीच तालमेल हुने हल्लामा कुनै सत्यता नरहेको दाबी गरेका छन् । एमालेसँग वाम एकता या चुनावी तालमेलको कुनै पनि सम्भावना नरहेको बताए ।

पूर्वप्रधानमन्त्री नेपालले हालै सार्वजनिक भएको आगामी आर्थिक वर्षको बजेट चुनावीमुखी नभएको टिप्पणी गर्दै भने बजेट चुनावको समयमा आएको हो तर, चुनावीमुखी नरहेको प्रष्ट परेका छन् । नेपालले भने स्थानीय तह निर्वाचन परिणामलाई समीक्षा गर्दै आगामी प्रदेश र प्रतिनिधिसभा निर्वाचनसम्म अहिलेकै वाम–लोकतान्त्रिक गठबन्धनलाई निरन्तरता दिने धारणा व्यक्त गरेका छन् ।

अध्यक्ष नेपाल आफ्नो पार्टीबाट निर्वाचित जनप्रतिनिधिलाई बधाई तथा प्रशिक्षण दिन सुर्खेत आएको बताएका छन् । स्थानीय तह निर्वाचनमा आफ्नो पार्टीले गर्वलायक सफलता प्राप्त गरेको र कतिपय पालिकामा चुनाव चिह्नको अस्पष्टताले गर्दा सिट गुमाउनुपरेको उनको भनाइ रहेको छ ।