दुर्गन्धबाट मुक्त गरिदिन सिसडोलका जनप्रतिनिधिले आग्रह

काठमाडौँ । काठमाडौँ उपत्यकाको १८ स्थानीय तहको फोहर व्यवस्थापनस्थल सिसडोलका जनप्रतिनिधिले आफूहरुलाई दुर्गन्धबाट मुक्त गरिदिन आग्रह गरेका छन् । काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र उपप्रमुख सुनिता डङ्गोल आज बिहान उपत्यकाको अन्तिम फोहर व्यवस्थापनस्थल सिसडोल पुग्दा स्थानीयवासीले आफूहरु पनि मान्छे नै भएकाले फोहरका कारण पीडित बनाएर नराख्न आग्रह गरेका हुन् ।

आगामी दिनमा विगतमा जस्तै स्थानीयवासीको मागलाई बेवास्ता गरी अगाडि बढे थप समस्या सिर्जना हुने भन्दै ककनी गाउँपालिका वडा नं ३ का अध्यक्ष घननाथ बजगाईंले समयमै माग सम्बोधन गर्न काठमाडौँ महानगरपलिकालाई आग्रह गरेका छन् ।

मागअनुसार पीडितलाई स्वास्थ्य बीमा, शिक्षालगायतको व्यवस्था कामपाले गरे पनि जग्गा अधिग्रहणका लागि केन्द्र सरकारसँग सहकार्य गर्नु आवश्यक हुने पनि उनले सुझाव दिउका छन् । दीर्घकालीनरुपमा फोहर व्यवस्थापनको सवालमा राज्यले कहिल्यै पनि पहल नगरेको आरोप स्थानीयवासीले लगाएका थिए । स्थानीयवासीको समस्याका विषयमा प्रमुख साहले बिहीबार शहरी विकास मन्त्रालयसँग पनि छलफल भएको जानकारी दिँदै मन्त्रालय र महानगरको सहकार्यमा नै फोहरको दीर्घ समाधान गरिने विश्वास दिलाएका छन् ।

तत्कालका लागि सिसडोलमा थुपारिएको फोहरको दुर्गन्ध हटाउन केमिकल प्रयोग गरिने जानकारी दिँदै साहाले आगामी दिनमा उपत्यकाको फोहर व्यवस्थापनकै लागि बल प्रयोग नहुने र सहकार्यमा नै काम गरिने प्रतिबद्धता मेयर साहले गरेका छन् ।