सामुदायिक विद्यालयमा विद्यार्थीको अत्यधिक चाप

काठमाडौँ । बाँकेको सामुदायिक विद्यालय धम्बोझी माध्यमिक विद्यालयमा विद्यार्थीको चाप बढेको छ । नेपालगञ्ज–१ मा रहेको उक्त सामुदायिक विद्यालयमा विद्यार्थीको चाप अत्यधिक भएपछि विद्यार्थी भर्नामा प्रवेश परीक्षा लिनुपरेको विद्यालयका प्रधानाध्यापक वामदेव सुवेदीले जानकारी दिएका छन् ।

प्रधानाध्यापक सुवेदीका अनुसार धम्बोझी माविले शिशु कक्षादेखि १० सम्म विद्यार्थी भर्नाका लागि प्रवेश परीक्षा लिने गरेको छ । विद्यालयमा सीमित दरबन्दी र भौतिक पूर्वाधारको कमीका कारण सामुदायिक विद्यालय भए पनि भर्ना हुन आउने विद्यार्थीलाई सिधै भर्ना लिन नसकिएको बताए ।

सामुदायिक विद्यालयमा भर्ना हुन आउने विद्यार्थी र अभिभावकलाई भौतिक पूर्वाधारको कमीका कारण भर्ना गर्नका लागि ठाउँ छैन भनेर फर्काउनुपर्ने बाध्यता छ । विद्यार्थीको चापअनुसारको कक्षा कोठासँगै बस्ने डेस्क, बेन्च अभावका कारण विद्यालयमा आउने सबैलाई भर्ना गर्न नसकिएको सुवेदीको भनाइ छ ।

विद्यालयमा विद्यार्थीको चाप अत्यधिक बढेपछि भर्ना लिनका लागि प्रवेश परीक्षा लिएर मात्र भर्ना लिने रणनीति बनाइएको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष लीलाराज उपाध्यायले बताउनुभयो । विद्यालयको भौतिक संरचना कक्षाकोठा र फर्निचर अभावका कारण सबै विद्यार्थीलाई भर्ना लिन असहज भएको उनले जानकारी दिएका छन् ।

सो विद्यालयमा बालविकास केन्द्रदेखि कक्षा १२ सम्म २ हजार ७ सय ३७ विद्यार्थी चालु शैक्षिकसत्रका लागि भर्ना भएका छन् । बालविकास केन्द्रमा १ सय ११, कक्षा १ मा १ सय २३, कक्षा २ मा १ सय १४, कक्षा ३ मा १ सय १२, कक्षा ४ मा १ सय ४५, कक्षा ५ मा १ सय ३१, कक्षा ६ मा १ सय ८९, कक्षा ७ मा २सय ३७, कक्षा ८ मा २सय ८, कक्षा ९ मा २ सय ७३, कक्षा १० मा २ सय ३८, कक्ष ११ मा ४ सय ८० र कक्षा १२ मा ३ सय ७६ जना भर्ना भएका छन् ।

नेपालगञ्ज उपमहानगरका सबै सामुदायिक माविहरूमा भन्दा धम्बोझी माविमा विद्यार्थीको चाप अधिक भएकाले विद्यालय दुई भागमा सञ्चालन गर्नुपरेको विद्यालय व्यवस्थापन समितिका अध्यक्ष उपाध्यायले बताएका छन् ।