कैलालीमा नक्कली नोट सहित ३ जना पक्राउ

काठमाडौँ । कैलालीबाट नक्कली नेपाली नोट सहित तिन जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरूमा धनगढी उपमहानगरपालिका ७ बस्ने ३५ वर्षीया सुमित्रा राना, उपमहानगरपालिका ८ बस्ने ३८ वर्षीया चन्द्रा बोहरा र सन्तोषी टोल डेरा गरी बस्ने सोही उपमहानगरपालिका १४ घर भएकी २७ वर्षीया रितु चौधरी रहेका छन् ।

धनगढी उपमहानगरपालिका १ हाटबजारबाट ३० थान र अभियुक्तको कोठाबाट ८ थान गरी १ हजार दरका जम्मा ३८ थान नक्कली नेपाली नोट सहित ३ जनालाई शुक्रबार राति प्रहरीले पक्राउ गरेको छ ।

उक्त स्थानमा सुमित्रा रानाले नक्कली नोट लिई किनमेल गरिरहेको सूचनाको आधारमा वडा प्रहरी कार्यालय धनगढीबाट खटिएको प्रहरीले उनलाई १ हजार दरका ३० थान नक्कली नेपाली नोट फेला पारी पक्राउ गरेको थियो । थप सोधपुछ गर्दा उक्त कारोबारमा चन्द्रा समेत संलग्न रहेको खुल्न आएपछि उनलाई नियन्त्रणमा लिई थप अनुसन्धान गर्दा रितु चौधरीको कोठाबाट १ हजार दरका ८ थान नक्कली नोट फेला पारी तीनै जनालाई पक्राउ गरेको प्रहरीले जानकारी गराएको छ ।