मोटरसाइकलको ठक्करबाट राप्रपा नेता श्रेष्ठको मृत्यु

काठमाडौँ । मोटरसाइकलको ठक्करबाट गम्भीर घाइते भएका राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका नेता जीवनकुमार श्रेष्ठको उपचारका क्रममा काठमाडौँमा मृत्यु भएको छ । दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका १ दिक्तेल बजारस्थित आफ्नै घर अगाडि शुक्रबार प्रदेश १–०५–००१ प ६८३७ नं को मोटरसाइकलले ठक्कर दिँदा गम्भीर घाइते भएका नेता श्रेष्ठको उपचारका क्रममा आज काठमाडौँस्थित न्यूरो अस्पताल बाँसबारीमा ५८ वर्षको उमेरमा मृत्यु भएको हो ।

मोटरसाइकल दुर्घटनामा गम्भीर घाइते भएपछि हेलिकोप्टर चार्टर गरेर शुक्रबार नै अस्पताल पु¥याइएका नेता श्रेष्ठलाई अस्पतालले तीन दिनपछि आज मृत घोषणा गरेको राप्रपाका केन्द्रीय सदस्य रवीन चाम्लिङले जानकारी दिएका छन् । नेता श्रेष्ठलाई दिक्तेल बजारस्थित किरातचोकबाट पुरानो बेसक्याम्पतर्फ जाँदै गरेको मोटरसाइकलले सपिङ कम्प्लेक्स अगाडि सडकमा ठक्कर दिएको थियो ।

तीव्रगतिमा आएको मोटरसाइकलले ठक्कर दिएपछि सडकमा ढलेका श्रेष्ठको टाउको र छातीमा गहिरो चोट लाग्दा जिल्लामा उपचार नभएपछि थप उपचारका लागि चिन्ताजनक अवस्थामा काठमाडौँ लगिएको हो । नेता श्रेष्ठको आजै काठमाडौँस्थित पशुपति आर्यघाटमा दाहसंस्कार गर्ने तयारी गरिएको पारिवारिक स्रोतले जानकारी गराएको छ ।