केही स्थानमा मेघ गर्जन, चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ । देशभर आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघ गर्जन/चट्याङसहित हल्का मध्यम वर्षा हुने भएको छ । देशको प्रदेश नं एक, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव र अन्य प्रदेशका भू–भागमा स्थानीय वायुको तथा भारतको उत्तर प्रदेश र विहारमा रहेको पूर्व–पश्चिमी न्यून चापीय रेखाको प्रभाव रहेको जल तथा मौसम विज्ञानले जानकारी दिइएको छ ।

विभागका अनुसार सो प्रणालीको प्रभावले प्रदेश नं १, बागमती र गण्डकी प्रदेशमा सामान्य बदली तथा बाँकी भू–भागमा सामान्यदेखि आंशिक बदली रही प्रदेश नं १, बागमती र गण्डकी प्रदेशका केही स्थान तथा मधेस प्रदेश र कर्णाली प्रदेश लगायत लुम्बिनी प्रदेशका पहाडी भू–भागका थोरै स्थानमा मेघ गर्जन÷चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशमा सामान्यदेखि पूर्ण बदली तथा कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशका भू–भागमा आंशिकदेखि सामान्य बदली र बाँकी भूभागमा मौसम सामान्यतया सफा भई प्रदेश नं १, मधेस प्रदेश, बागमती र गण्डकी प्रदेशका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित पानी परिरहेको छ ।

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौँ उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव ६ डिग्री र अधिकतम तापक्रम २८ दशमलव तीन डिग्री सेल्सियस रहेको छ । सबैभन्दा कम जुम्लाको न्यूनतम तापक्रम १५ दशमलव पाँच डिग्री र सबैभन्दा धेरै धनगढीको ३९ अधिकतम तापक्रम दशमलव ९ डिग्री सेल्सियस रहेको छ ।