कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दाका फरार दुईजाना पक्राउ

काठमाडौँ । पर्वतमा कर्तव्य ज्यान तथा जवरजस्ती करणी मुद्दाका फरार प्रतिवादीहरू पक्राउ परेका छन् । पक्राउ पर्नेमा बाँके नेपालगञ्ज उपमहानगरपालिका ६ कसाईटोल बस्ने ३३ वर्षीय अच्छन अलि अन्सारी र बाँके साविक सोनपुर गाबिस ९ ठेगाना भएका ३४ वर्षीय जोहरू भाट रहेका छन् । उनीहरुलाई मंगलबार प्रहरीले पक्राउ गरेको छ ।

अच्छन अलिले आफ्नै पत्नीलाई २०७५ असार ३१ गते दाईजो कम ल्याएको कुरामा टाउकोमा लाठी र भाला प्रहार गरी गम्भीर घाइते भएपछि २०७५ साउन २१ गते भारतको लखनउमा उपचारको क्रममा मृत्यु भएको थियो । जोहरू भाट समेत २ जनाले २०७० भदौ ७ गते दिउँसो बाँके साविक सोनपुर गाविस २ स्थित गिजरा सामुदायिक वनमा दाउरा खोज्न गएकी महिलालाई सामूहिक जवरजस्ती करणी गरेका थिए ।

कर्तव्य ज्यान मुद्दामा अच्छन अलिलाई जिल्ला अदालत बाँकेबाट २० वर्ष कैद सजाय ठहर भएको थियो । जोहरू भाटलाई जबरजस्ती करणी मुद्दामा जिल्ला अदालत बाँकेबाट ७ वर्ष कैद र ५० हजार रूपैयाँ क्षतिपूर्तिको सजाय ठहर भएको थियो ।

सजाय ठहर भई फरार रहेका उनीहरूलाई केन्द्रीय अनुसन्धान ब्यूरो महाराजगञ्जबाट खटिएको प्रहरीले बाँके जमुनाहास्थित नेपाल भारत सिमावर्ति क्षेत्रबाट फेला पारी पक्राउ गरेको छ । अहिले उनीहरूलाई फैसला कार्यान्वयनका लागि जिल्ला अदालत बाँकेमा पेश गरिएको छ ।