अर्थमन्त्री शर्मासँग संसदीय छानबिन समितिले लियो बयान

काठमाडौं । तत्कालिन अर्थमन्त्री जनार्दन शर्मासँग संसदीय छानबिन समितिले बयान लिएको छ । बयानकाक्रममा शर्माले करको दर हेरफेर गरेर देशका लागि घात हुने काम नगरेको दाबी गरे ।

मन्त्री शर्माले नियम कानुन र तोकिएको मापदण्ड अनुसार नै करका दर हेरफेर गरेको बयान समिति समक्ष दिइएका छन् । शर्मामाथि छानबिनका लागि गठन भएको समितिले शर्मालाई बयानका लागि आज समितिमा बोलाएको थियो ।

बजेटमा करको दर हेरफेर गरेको आरोप लागेपछि शर्माबारे छानबिन गर्न संसदले संसदीय विशेष समिति गठन गरिएको थियो भने तत्कालीन अर्थमन्त्री शर्माले राजीनामा दिएका थिए । शर्मामाथि बजेट सार्वजनिक हुने अघिल्लो रात गत १४ जेठमा ‘अनधिकृत व्यक्तिलाई अर्थ मन्त्रालय प्रवेश गराई करका दर हेरफेर गरेको’ आरोप छ ।

गत मंगलबार समितिले बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका सचिव मधुकुमार मरासिनीसहित १० जनासँग छलफल गरिसकेको छ ।संसदीय विशेष छानबिन समितिमा सांसदहरू लक्ष्मणलाल कर्ण, खगराज अधिकारी, देवप्रसाद गुरुङ, प्रदीप ज्ञवाली, भानुभक्त ढकाल, विमला विक, शक्ति बस्नेत, सरलाकुमारी यादव, सीताराम महतो, सुरेन्द्र यादव र मानबहादुर विश्वकर्मा सदस्य रहेका छन् ।