राष्ट्रसङ्घको ७७ औँ महासभा : उच्चस्तरीय सहभागिताका लागि गृहकार्य जारी

काठमाडौँ । परराष्ट्र मन्त्रालयले संयुक्त राष्ट्रसङ्घको ७७ औँ महासभामा नेपालबाट उच्च स्तरीय सहभागिताका लागि गृहकार्य भइरहेको जानकारी गराएको छ ।

आजा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा मन्त्रालयका प्रवक्ता सेवा लम्सालले संयुक्त राष्ट्रसङ्घको महासभा विश्वभरका सरकार वा राष्ट्रप्रमुख सहभागी भई सम्बोधन गर्ने मञ्च भएकाले त्यसैगरी भ्रमण हुने अपेक्षासहित परराष्ट्र मन्त्रालयले तयारी थालेको बताए । संयुक्त राष्ट्रसङ्घीय महासभा आगामी सेप्टेम्बर १३ मा सुरु हुनेछ ।

प्रवक्ता लम्सालले अमेरिकी सेनाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपीपी) मा सहभागी नहुने सरकारको निर्णय अमेरिकालाई पठाउने विषयमा अध्ययन भइरहेको पनि बताए । पत्रकार सम्मेलनमा प्रधानमन्त्री शेरबहादुर देउवाको अमेरिका भ्रमणका विषयमा पत्रकारको जिज्ञासामा प्रवक्ता लम्सालले दुवै पक्षको अनुकूलता भएपछि मात्रै सो भ्रमणबारे जानकारी गराइने बताए ।