उपत्यकाको फोहर व्यवस्थापन गर्न सरकारको ध्यानाकर्षण

काठमाडौँ । प्रतिनिधिसभाको आजको शून्य समयमा सांसदहरुले काठमाडौँमा फोहर थुप्रिँदै गएकोप्रति सरकारको ध्यानाकर्षण गराएका छन् ।

सांसद अमृता थापामगरले काठमाडौँमा दैनिक फोहर थुप्रिँदा नागरिकको स्वास्थ्यमा गम्भीर असर परेको र जनजीवन कष्टकर बन्दै गएकोप्रति सरकारको ध्यानाकर्षण गराए । उनले सरकारले काठमाडौँसहित देशभरका सहरमा फोहर व्यवस्थापनमा ध्यान दिनुपर्ने सुझाव दिँदै फोहरका कारण नेपालका मुख्य सहर कुरुप बन्दै गएकोप्रति सबैले ध्यान दिनुपर्नेमा जोड दिइएका छन् । 

 सांसद कृष्णगोपाल श्रेष्ठले नागरिकता विधेयकमा गम्भीर त्रुटि देखिएपछि राष्ट्रपतिले संसद्समक्ष फिर्ता पठाएपछि त्यसका विषयमा गम्भीर छलफल गर्नुपर्ने सुझाव दिए ।  सांसद अञ्जना विसङ्खेले नागरिकतासम्बन्धी विधेयक सबैले छलफल गरेर आवश्यक संशोधन गरी सम्मानजनक तरिकाले पठाउनुपर्ने बताए । सांसद कलिना खातुनले फोहर व्यवस्थापन वर्गीकरण गरेर तीनै तहका सरकारले व्यवस्थापनमा ध्यान दिनुपर्नेमा जोड दिँदै व्यवस्थापन गर्न वडा, नगर, प्रदेश र सङ्घ सबै जुट्नुपर्नेमा  जोड दिए । 

 नागरिकता विधेयक प्रतिनिधिसभामा फिर्ता पठाउनु संवैधानिक अधिकार भएको र विवाह गर्ना साथ नागरिकता दिने व्यवस्था राख्न नहुने सांसद खेमप्रसाद लोहनीले बताए । सांसद गणेश ठगुन्नाले दार्चुलामा बुधबार भएको जीप दुर्घटनामा पाँच जनाको मृत्यु भएकोप्रति दुःख व्यक्त गर्दै मृतकका परिवारलाई क्षतिपूर्ति र घाइतेको उपचारमा ध्यान दिन सरकारको ध्यानाकर्षण गराएका छन् । 

 सांसद झपटबहादुर रावलले कैलालीमा डेङ्गु फैलिएर समस्या देखिएकाले तत्काल रोकथामका लागि सरकारसँग आग्रह गरेका छन् ।