मेयर शाहको प्रश्न : घरको नक्सा मसँग हुन्छ कि तपाईसँग ?

काठमाडौँ । अवैध संरचनाहरु हटाउँदै हिँडेका काठमाडौं महागरपालिकाका मेयर बालेन शाह बिहीबार नयाँ बानेश्वरस्थित बिजुलीबजारमा रहेको अल्फाबिटा कम्प्लेक्समा पुगे । मेयर बालेनले घरको नक्सा खोज्दा, त्यहाँ उपस्थित अल्फाबिटाका प्रतिनिधिले उल्टो मेयरसँग नक्सा मागे । मेयर बालेनले प्रश्न गरे, तपाईँको घरको नक्सा मसित हुनुपर्छ कि, तपाईसँग ?

कम्प्लेक्सको अन्डरग्राउन्डमा व्यवसाय सञ्चालन गरेका घरबेटीलाई उक्त व्यवसाय गरिरहेको ठाउँ खाली गर्नका लागि आग्रह गर्दा सञ्चालक शर्मा नमानेपछि मेयर शाह झोक्किएका हुन् । घरबेटीले संरचना हटाउनका लागि आफूलाई नगरपालिकाबाट कुनै सूचना नआएको र थाहा नभएको भन्दै सञ्चालकले कम्प्लेक्सको नक्सा अहिले आफूसँग नभएको भन्दै मेयर शाहसँग हुनुपर्ने भनेपछि उनी रिसाएका थिए ।

महानगरको कर्मचारी, नगर प्रहरी र ट्राफिक प्रहरीको टोलीसहित अनुगमन गर्न निस्किएका शाहले पार्किङका लागि बनाइएको बेसमेन्टमा अन्य व्यवसाय सञ्चालन गरेको पाएपछि हटाउन त्यसलाई हटाउनसमेत निर्देशन दिएका छन् ।

महानगरले यसअघि नै ३५ दिने सूचना निकालेको थियो । ३५ दिनसम्म पनि नहटाएपछि महानगर आफैंले संरचना हटाउन थालेको हो ।अनुगमनका क्रममा घरबेटीहरूले नियमविपरीत पार्किङका लागि बनाइएको बेसमेन्टमा मोटो रकमको लोभमा होटल, रेस्टुरेन्ट, पब तथा पसलहरू सञ्चालन गर्न दिएको पाइएको छ ।

मेयर शाहले नियमविपरीत बेसमेन्ट भाडामा लगाउने दिने घरबेटीले नै व्यवसायीलाई क्षतिपूर्ति दिनुपर्ने बताएका छन् । उनले व्यवासयीहरूलाई सम्बन्धित घरबारे थाहा नहुने र त्यसको सम्पूर्ण विवरण दिने जिम्मेवारी घरबेटीकै हुने बताए । महानगरपालिकाले संरचना हटाउन लाग्ने सम्पूर्ण खर्च घरबेटीलाई भर्पाइ पनि गराउने भएको छ ।