प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा युवती पक्राउ

काठमाडौं । काठमाडौं महानगरपालिका–३ स्थित सामाखुसीबाट प्रतिबन्धित औषधि बिक्री गरेको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा गोरखा घर भएकी २९ वर्षीया सुस्मा थापा रहेकी छन् ।

अनुमति बिना सञ्चालित फार्मेसीमा उपत्यका अपराध अनुसन्धान कार्यालयले छापा मारेको हो । ‘निरुपा फार्मेसी’मा छापा मारेर सञ्चालिका थापालाई पक्राउ गरिएको उपत्यका अपराध अनुसन्धान कार्यालयले जानकारी दिइएको हो ।

फार्मेसी संचालिका सुस्मा मेडिकल पर्सन नभए पनि चिकित्सकको सिफारिसमा मात्र प्रयोग गर्न मिल्ने नियन्त्रित औषधि लागूऔषध प्रयोगकर्तालाई बेच्ने गरेको अनुसन्धानबाट खुलेको प्रहरीको भनाइ छ ।

प्रहरीले फार्मेसीबाट ट्रामाडोल क्याप्सुल ८ सय १० थान, डिसाइसिओमिन ट्याब्लेट ९ सय ८० थान, डेक्स्ट्रोमेथोराफान २ सय ६५ ट्याब्लेट, स्टागन ट्याब्लेट ५ सय ३१ थान र गाबिक्स ट्याब्लेट १ सय ४२ थान सहित उल्लेख्य मात्रामा नियन्त्रीत औषधी बरामद गरेको छ । आरोपीलाई औषधी ऐन–२०३५ अनुसारको कसुरमा कारबाहीका लागी औषधी व्यवस्था विभागमा बुझाइएको प्रहरीले जानकारी दिएको छ ।