एडुकेशन कन्सल्टेन्सीको नाममा मानव तस्करी : क्यानडा पठाउने भन्दै करोडौं ठगी

काठमाण्डौ । क्यानाडामा जागिर र स्थायी बसोबासको नाममा केही कन्सल्टेन्सीहरुले गोरखधन्दा गरिरहेको पाइएको छ । अस्वभाविक पैसा कुम्ल्याउनेदेखि नक्कली विहे गराउने, बैंक मौज्दातदेखि हरेक कागजात किर्ते गर्ने गरेका छन् ।
अन्य देशको तुलनामा स्थायी बसोबास (पिआर) प्रक्रियामा प्राथमिकता एवं लचकता भएकोले क्यानाडा बसाइसराइ गर्ने धेरैको चाहना हुन्छ । त्यतिमात्र होइन, क्यानाडामा सामाजिक सुरक्षा निकै राम्रो भएकोले वर्क परमिट, एलएममाईए, स्टुटेन्ट भिसा, पिआर, भिजिटजस्ता कुनैपनि माध्यमबाट प्रवेश गर्न लालयित हुने गर्छन् ।

क्यानाडा जान सजिलो भने पक्कै छैन । धेरै चरणको अन्तरवार्ता, कार्यअनुभवका यथेष्ट प्रमाण, तलब लगत, सम्बन्धित पेशामा तालिम, अंगे्रजी भाषाको दक्षतालगायत चाहिन्छ । फेरि क्यानाडाको आप्रवासी भिसा नेपालीहरुको लागि प्राथमिकतामा पनि छैन ।

तर क्यानाडा जानेहरुको लर्को र आशक्तिलाई केही कन्सल्टेन्सीहरुले ठगी खाने माध्यम बनाएका छन् । दुःखले आर्जेको पैसा लगेर तिनै कन्सल्टेन्सीहरुमा बुझाउने र त्यो पैसामा तिनै कन्सल्टेन्सीका सञ्चालकहरु नेपालदेखि क्यानाडामा घर, व्यवसाय जोड्ने, नयाँ महँगा गाडीहरु फेरि फेरि चढ्नेजस्ता मस्ती गरेर बसेका छन् ।

क्यानाडाको आप्रवासनको नाममा निरीह युवाको पैसामा मस्ती गर्नेहरुमा काठमाण्डौंस्थित नायग्रा फल्स, रियल वल्र्ड, प्रेसिडेन्सियल, डब्लुडब्लुआईसी, ब्राइट क्यानाडा जस्ता कन्सल्टेन्सीहरु अग्रपंक्तिमा छन् ।

सक्कलीसँग डिभोर्स गराएर नक्कलीसँग विहे

नयाँ बानेश्वरस्थित कन्सल्टेन्सी हरुमामा जाने क्लाइन्टलाई सोधिने पहिलो प्रश्न हो “तपाईंको विहे भइसकेको हो कि सिंगल रु” यदि सिंगल हो भन्ने जवाफ आयो भने यसका सञ्चालकहरु मुख मिठ्याउन थाल्छन् र भन्छन् “ल ठिक छ, तपाईंको काम गर्दिन्छौं, तर तपाईंले डिपेन्डेन्ट हाल्नुपर्छ ।” केही सस्तो पनि पर्ने र क्यानाडा पनि जाने पाउने भएपछि धेरैजसो क्लाइन्ट सहमत हुन्छन् । कतिपयलाई आफ्नै पति वा पत्नीलाई डिभोर्स गराउन राजी गराएर उनीहरुले खोजेको मान्छेसँग नक्कली विहे गराउँछन् ।

अब सुरु हुन्छ अर्को फन्डा । अप्लाइ गर्ने क्लाइन्ट (केटा वा केटी जो पनि हुन सक्छन्) त पाइयो, कसले बढी पैसा दिन्छ, डिपेन्डेन्टमा लैजाने मान्छे खोजिदिन्छौं भनेर खोजी र दलाली गर्न थाल्छन् । कोही न कोही मुर्गा भेटिहाल्छन् ।
डिपेन्डेन्टमात्र भेटिएर भएन, अब विहे कहाँ गर्ने ? धेरैलाई चिन्ता हुन सक्छ, तर कन्सल्टेन्सीले नक्कली विहे गराउने पण्डितदेखि वेहुला बेहुलीको लुगा, कृत्रिम जग्गेदेखि नक्कली जन्ती पनि व्यवस्था गरिदिन्छ । कतिपयलाई मन्दिरमा कतिलाई पार्टी प्यालेसमै फिल्म सुटिंगको शैलीमा विहे गराइदिन्छन् । पण्डितले यस्तो विहेको लागि चलनभन्दा चार गुणासम्म शुल्क लिन्छन् अरे । अनि मन्दिरको प्रमाणपत्र पनि दिन्छन्, विहे भएको निस्सास्वरुप ।
सबैले हिन्दू परम्परामा विहे गर्छन् भन्ने छैन । गरेपनि कानुनी मान्यता हुँदैन । यसको पनि समाधान पनि छ यो कन्सल्टेन्सीसँग । विहे दर्ताको प्रमाणपत्र पनि आफैं बनाइदिन्छन् । आफैं छाप्छन् वा अरु कोही व्यक्तिलाई लगाउँछन् भन्ने कुरा गोप्य राख्छन् ।

तर, भिसा लागेर गए त उतै डिभोर्स गर्लान् वा मन मिल्यो भने सँगै बस्लान् । तर, भिसा लागेन पनि दुबै क्लाइन्टको बर्वादी यहीँ हुन्छ । दुबैजनाको विहे दर्ता प्रमाणपत्र एम्बेसीमा गइसकेको हुन्छ, पछि दुईमध्ये एकले छुट्टै विहे गरेको खण्डमा वा एक्लै क्यानाडालगायत कुनैपनि देशमा भिसा अप्लाई गर्न अवरोध झेल्नुपर्छ । अधिकांशले भिषा रिफ्यूजल भोग्नुपर्छ ।

यस्तैमध्येका एक सविन (नाम परिवर्तन), जो, खाडी मुलुकमा होटल सेक्टरमा काम गरेका आएका थिए, कन्सल्टेन्सीले विहे गराइदियो । उनको भिसा रिजेक्ट भयो । अहिले यी केटा अर्को सक्कली विहे गरेर जान सक्दैनन् । यता उनको कागजी पत्नीले आफ्नै ब्वाइफ्रेन्डसँग विहे गरिन् । अहिले ती युवतीको पतिले अमेरिका वा बेलायत जहाँ भएपनि जाऊँ भनेर भिसा अप्लाइ गर्न खोजेका छन्, तर आफ्नी पत्नी पहिले नै कसैको जोडी भइसकेको प्रमाणपत्र एम्बेसीमा पुगिसकेको छ । जानकारी अनुसार, क्यानाडा, अमेरिका, बेलायत, अष्टेलिया र न्युजिल्याण्डको एम्बेसीले एक आपसमा सबै डाटा सेयर गर्न सक्छन्, अर्थात्, एउटा देशमा पहिला अप्लाई गरेको छ भने उसको विवरण यी मध्ये कुनैपनि देशका एम्बेसीमा थाहा हुन्छ ।

आफै छाप्छन् धेरै डकुमेन्ट

धेरैको अनुभव पत्र, तालिमको प्रमाणपत्र नक्कली बनाइदिने गरिएको छ । एउटै रोजगारदाताबाट जतिजनाको अनुभवपत्र बनाइदिनेमात्र होइन, कतिपय कम्पनी दर्ता पनि भएको हुँदैन । फोटोसपकै भरमा धेरैको अनुभवपत्र बन्छ यहाँ । यसमा नोटरी स्टाम्प भएपनि यो नक्कली कागज सही हुने नै भयो ।

क्यानाडा जान कम्तिमा कक्षा १२ पास गरेको हुनुपर्छ । यदि कसैको यति पढाइ छैन भने नक्कली सर्टिफिकेट बनाइदिएर पनि “सहयोग” गर्छन् उनीहरु । अर्थात्, अल सोलुसन्स एट अ सेम प्लेस ।

नायग्रा फल्स, जहाँ लुटिइन्छन् निरीह युवा

क्यानाडा माइग्रेसन तथा स्टटी पर्मिटको क्षेत्रमा लामो समयदेखि सञ्चालित कन्सल्टेन्सी हो नायग्रा फल्स । यो कन्सल्टेन्सीले विद्यार्थी भिसाको सफलता राम्रो संख्यामा हासिल गर्दै आएपनि यसले वर्क पर्मिट र पिआरको नाममा आफ्नो बेग्लै पहिचान बनाएको छ, अचाक्ली महँगो शुल्क । यहाँ घटीमा ७० लाख रुपैंयाँमा डिल गर्ने र भेटेको भोलिपल्टै १५,२० लाख रुपैंयाँ बैना माग्ने गरिएको एकजना क्लाइन्टले बताए ।

उनी भन्छन्, “यसका सञ्चालक फडिन्द्र श्रेष्ठ क्यानाडा बस्ने र उतैको वकिल हो भनेर बताइयो । यति वर्षदेखि क्यानाडा बसेको मान्छे, केही मान्छेहरु पनि लगेका रहेछन् । विश्वास लाग्यो, अनि पैसा दिएँ ।”

तर उनले पछि बुझ्दा क्यानाडामा वर्क पर्मिट, पिआर आदिको इमिग्रेसन वकिल र त्यहाँको जब प्लेसमेन्ट कम्पनीको शुल्क योभन्दा निकै सस्तो हुने रहेछ । अहिले उनी पैसा फिर्ता मागिरहेका छन् । “फिर्ता पाउँला जस्तो छैन”, उनी भन्छन् ।
यसका सञ्चालक क्यानाडामै रियल स्टेट व्यवसायमा छन् । यता उनको नातेदारले कन्सल्टेन्सी चलाउँछन् । यहाँ उठेको पैसा क्यानाडा र नेपाल दुबै ठाउँमा विभिन्न व्यवसायमा परिचालन गर्ने गरेका छन् ।

प्रेसिडेन्सियल कन्सल्टेन्सी, जहाँ पस्नेबित्तिकै लूट

केही क्लाइन्टहरुका अनुसार, निकै हाईफाई सजावटमा बनाइएको प्रेसिडेन्सियल कन्सल्टेन्सीमा प्रवेश गर्ने बितिक्कै एक हजार रुपैंयाँ तिराइन्छ । त्यति पैसा तिरेपछि भित्र कुनामा एकजना व्यक्ति हुन्छन्, जो आफूलाई क्यानाडा र अमेरिकाको योग्य कन्सल्टेन्ट रहेको र यत्तिको सजावट भएको कन्सल्टेन्सी अरु कसैको नभएको आत्मरति सुनाउँछन् । क्यानाडा र अमेरिकाको पिआर, ग्रीन कार्ड, वर्क परमिटहरु ग्यारेन्टीका साथ गरिदिने वाचा सुनाउँछन् । “हामी त क्यानाडाको इमिग्रेसन वकिलहरुको समूह हौं, भिसा नहुने चान्स नै हुन्न” यति भनिसक्दा कतिपय क्लाइन्ट विश्वस्त हुँदै जान्छन् । अब कागजमा सहीछाप गराउँदै औपचारिक मुर्गा बनाइन्छन् । त्यसमा विभिन्न किस्तामा भुक्तानी गर्नुपर्ने र यो पैसा फिर्ता नहुने भन्दै सहीछाप गराउँछन् ।

यसैमध्येका एकजना क्लाइन्टले क्यानाडाको पिएनपी कार्यक्रममा प्रोफाइल क्रियट गर्न लगाए वापत २५ लाख रुपैंया तिर्ने कागज गरे । जबकि यो काम कम्प्युटर र अंग्रेजीमा सामान्य क्षमता हुने जो कोहीले गरिदिन्छन् । यदि क्यानाडियन कन्सल्टेन्ट नै हायर गर्ने हो अधिकतम ३५ सय क्यानाडियन डलर अर्थात् ३ लाख ५० हजार नेपाली रुपैंयाँ लिन्छन्, त्यो पनि किस्ता किस्तामा ।

ती क्लाइन्टले यही कामको लागि २५ लाख रुपैंयामा तिर्छु भनेर सहीछाप गरेको पेपरमा क्यानाडियन कन्सल्टेन्टको नाममा खनाल थरका व्यक्तिको हस्ताक्षर छ । जबकि, ती खनाल थरका व्यक्ति इमिग्रेसन क्षेत्रमा लाइसेन्सप्राप्त कन्सल्टेन्ट नभएको बताइएको छ । उनी क्यानाडामै बसेर रिफरल एजेन्टको रुपमा काम गर्दै आएको स्रोतको दावी छ ।

क्यानाडामै रियल स्टेटदेखि होटल लगानी

विभिन्न प्रलोभन र झूटा आश्वासन दिएर संकलित रकम यी कन्सल्टेन्सीका सञ्चालकहरु क्यानाडामा रियल स्टेट, होटल, कमर्सियल हाउजिँग र महँगा भिल्लामा परिचालन गर्दै आएका छन् । नायग्रा फल्सका सञ्चालक फडिन्द्र श्रेष्ठ खासमा रियल स्टेट व्यवसायमा सहभागी रहेको बुझिएको छ । तर, नेपालमा उनी क्यानाडियल इमिग्रेसन कन्सल्टेन्ट भएको भन्दै प्रचार हुँदै आएको छ ।

स्रोतका अनुसार उनी र उनको समूहले क्यानाडामा होटल, रियल स्टेटहरुमा यथेष्ट लगानी गरेका छन् ।
रियल वल्र्ड कन्सल्टेन्सीका सञ्चालक सपरिवार गत वर्षदेखि धेरै समय क्यानाडामै रहँदै आएका छन् । उनले आफू क्यानाडा टेक्नुअघि नै एडमन्टनमा टेस्ट अफ साँग्रिला नामक रेस्टुरेन्ट शत प्रतिशत नगदमा खरिद गरेको स्रोतले जानकारी दिएको छ । आफू आउनुअघि नै त्यो पैसा कसरी क्यानाडा पुग्यो भन्ने कुरा खोजीको विषय हुन सक्छ ।

त्यसो त नायग्रा फल्स कन्सल्टेन्सीका सञ्चालक फडिन्द्र श्रेष्ठ र उनको समूह पनि नेपाली युवासँग पैसा उठाएर क्यानाडामा रियल स्टेट र अन्य कारोबार गर्दै आएका छन् । उनको निजी फेसबुक पेजबाटै उनी रियल स्टेट कारोबारी रहेको थाहा हुन्छ । यी त केही उदाहरण हुन् । क्यानाडामा वर्क पर्मिट, पिआर आदिको धन्दा गर्नेहरु त्यहाँ आवरणमा होटल व्यवसाय र विभिन्न सामाजिक संस्थाहरुमा आवद्ध भएको देखिएका हुन्छन् ।

नो रिसिप्ट, नो एग्रिमेन्ट

क्यानाडियन अध्यागमन प्रक्रिया कानुनी रुपमा निकै बलियो बनाइएको छ । हरेक क्लाइन्टले आफ्नो इमिग्रेसन कन्सल्टेन्ट ९आरसीआईसी० सँग के प्रक्रिया, कति पैसा र यसको किस्तासमेत उल्लेख गरेर सम्झौता गरेको हुनुपर्छ । यदि कन्सल्टेन्टको कारण भिसा लागेन, ठगीमा परियो वा काम बिग्रियो भने यसको जिम्मेवारी कन्सल्टेन्टकै हुन्छ । र ती कन्सल्टेन्ट आईआरसीसीमा दर्तावाला, लाइसेन्स भएकै हुुनुपर्छ, अरुले यस्तो कारोबार गर्न पाउँदैनन्, गरेको खण्डमा मानव तस्करी कानुन आकर्षित हुन्छ ।

फाइल लिनुअघि दुई पक्षबीच सम्झौतापत्रमा हस्ताक्षर गरेको हुनुपर्छ । जुन सम्झौतापत्र क्यानाडा सरकारले निर्धारण गरेको हुन्छ, जथाभावी र आफूखुसी बनाउन पाइँदैन । यही सम्झौताको आधारमा दुईजनाबीच आर्थिक लेनदेन हुन्छ । पैसा बुझाएको लगत्तै करसहितको रिसिप्ट जारी गरिएको हुनुपर्छ ।

तर, नेपालमा क्यानाडा लगिदिन्छु भन्ने अधिकांश कन्सल्टेन्सीहरु कुनैपनि आरसिआईसीसँग आवद्ध छैनन् । आरसीआईसीसँग आवद्ध भएका कन्सल्टेन्सीले यस्तो मनलाग्दी गर्दैनन् । यदि आरसीआईसीबाट सम्झौतापत्र आएको खण्डमा क्लाइन्ट र आरसीआईसीबीच हुनुपर्ने सम्झौतामा हस्ताक्षर गराउँदैनन् । गरेकै खण्डमा पनि बोलिएको भन्दा निकै कम शुल्क उल्लेख गरेर हस्ताक्षर गराउने वा धेरैजसोले आफैंले किर्ते हस्ताक्षर गरिदिने चलन छ ।

त्यसो त, केही कन्सल्टेन्सीले क्यानाडा वर्क पर्मिट भनेरै खुलेआम विज्ञापन गरिरहेका छन् । उनीहरुले यस्तो कारोबार गर्ने अधिकार पाएका हुन्नन्, तर भिसा ग्यारेन्टी भन्दै फलाकेपछि नेपालीहरुको लर्को लाग्छ त्यहाँ । अनि दिनहुँ सामाजिक सञ्जालमा आफू ठगिएको, नक्कली जब अफर, नक्कली एलएमआईए आएको पोष्ट भइरहेको हुन्छ । यस्तो घटना भारतीय दलालहरुबाट हुने गर्दै आएकोमा अहिले नेपाली दलालहरु पनि मिसिएका छन् ।

क्यानाडामै छन् नेपाली गिरोह

भिजिट, वर्क पर्मिट, पिआर, पिएनपी, एआईपीपी, चाइल्ड केयरजस्ता अनेक प्रक्रियामा क्यानाडा लिएर आउँछु भन्नेहरुको ठूलो गिरोह नेपालमा मात्र होइन, क्यानाडामै छन् । त्यहाँ नेपालीहरु भारतीय, पाकिस्तानी, बंगादेशी, फिलिपिनो र चाइनिजसँग सहकार्य गरेर यो धन्दा गरिरहेका छन् । त्यहाँ जब प्लेसमेन्ट कम्पनी र आरसीआईसीसँग म अरुभन्दा बढी पैसा दिन्छु, मेरो मान्छे ल्याइदेऊ भन्दै हात जोड्दै नेपाली गिरोह पुगिरहेका हुन्छन् । धन देखेपछि महादेवको तीन नेत्र भने झैं बढी पैसा दिने भएपछि प्रोसेस भइसकेका, जब अफर, नोमिनेसन वा एलएमआईए आइसकेका क्लाइन्ट पनि “सहिद” हुन्छन् । तिनको नाम हटाएर बढी पैसा दिनेको रिप्लेस हुन्छ । सम्झौता केही भएको हुन्न, विचरा निरीह र सोझा नेपाली युवा अनाहकमै सहिद बन्नुपर्ने हुन्छ, कुनैपनि बेला ।

कतिपयलाई प्रोसेस अघि बढिसकेपछि, मेडिकल वा भिसा स्टाम्पको लागि पासपोर्ट मागेपछि अतिरिक्त एवं चर्को पैसा माग्ने गरिएको पनि छ । बढी पैसा नदिने भए क्यानाडा एयरपोर्टबाटै फर्काइदिने, भनेको ठाउँमा जागिर नहुने भन्दै थर्काउँछन् ।
यस्ता गिरोहका सदस्यहरुको चुरीफुरी बेग्लै हुन्छ । उनीहरुका आफूलाई क्यानाडा हाइकमिसनदेखि स्थानीय रोजगारदातासँग बलियो सम्पर्क भएको दावी गर्छन् ।

पैसा जति व्यक्तिगत खातामा

यो धन्दा गर्ने क्यानाडाका दलालहरु पैसा जति सबै व्यक्तिगत खातामा जम्मा गर्न लगाउँछन् । आफ्नोमा होइन, अरु नै व्यक्तिको नाममा । त्यति गरेपछि आफू आर्थिक लेनदेन वा मानव तस्करी प्रकरणमा मुछिने भइएन भनेर ।
कतिपयले क्रिप्टो वा नेपालकै खातामा जम्मा गर्न लगाउँछन् । धेरैले नेपालकै सहकारी संस्थाहरुमा पैसा राख्ने गरेका छन् । कतिपयले मिटर व्याज वा विदेश जानेहरुको बैंक डिपोजिट शो गर्न पैसा परिचालन गर्छन्, जसको व्याज नै दैनिक एकलाखको २ हजार रुपैंयासम्म असुल्ने गरेका छन् ।

कुरो खोल्न चाहँदैनन् क्लाइन्ट

आफ्नो काम बिगारिदेलान् वा थाहै नपाई प्रक्रिया रद्ध गरिदेलान् भन्ने डरले धेरैजसो क्लाइन्ट आफ्नो पीडा ओकल्न चाहँदैनन् । भनेपनि आफूले कति पैसा बुझाएको, नक्कली विहे वा नक्कली कागज बनाएर अप्लाई गरेको भन्दैनन् । किनकि, धेरैजसोले कुनै न कुनै कागज नक्कली नै बनाएको छु भने आफैं डराएर बोल्न चाहँदैनन् ।

हामी छानवीन गर्दैंछौंः श्रम मन्त्रालय

नेपाल र क्यानाडाबीच श्रम सम्झौता नभएपनि नेपाली युवा व्यक्तिगत श्रम स्वीकृति लिएर क्यानाडा जान पाउँछन् । यसको लागि नेपाल सरकारले रोक्दैन । युवाहरु अहिले पनि गइरहेकै छन् । तर क्यानाडाको आधिकारिक रिक्रुटमेन्ट तथा लाइसेन्सप्राप्त कम्पनीसँग आधिकारिक सम्झौता गरेर प्रक्रिया गर्नुपर्ने सुझाव सरकारी अधिकारीहरु दिन्छन् ।
श्रम मन्त्रालयका सचिव एकनारायण अर्याल क्यानाडा वर्क पर्मिटको नाममा लूट मच्चाउने कन्सल्टेन्सीहरुको बारेमा आफूलाई पनि सूचना आएको बताउँछन् । “हामी अहिले यस्ता कन्सल्टेन्सीहरुको गतिविधिहरु नजिकबाट नियालिरहेका छौं” उनले भने “क्यानाडामै बसेर नेपाली लुट्ने गिरोहको बारेमा क्यानाडा हाइकमिसनसँग समन्वय पनि गर्ने सोचाइमा छौं ।”
पुनश्चः गत सातामात्रै यस्तै धन्दा मच्चाउने पे्रसिडेन्सियल कन्सल्टेन्सीका सञ्चालकहरु पक्राउ परेका थिए ।