मूल्यवृद्धि गर्दा पनि मासिक ६१ करोड घाटामा आयल निगम

काठमाडौँ । नेपाल आयल निगमले इन्डियन आयल कर्पोरेशन आइओसी बाट पेट्रोलियम पदार्थको खरिद मूल्य बढेर आएको भन्दै गए रातिदेखि लागू हुने गरी डिजेल र मट्टितेलको मूल्य वृद्धि गरेको छ । मूल्यवृद्धि गर्दा पनि अझै मासिक ६१ करोड घाटामा रहेको नेपाल आयल निगमका प्रवक्ता विनितमणि उपाध्यायको भनाइ छ ।

उपाध्यायका अनुसार नेपाल आयल निगमलाई खाना पकाउने एलपी ग्यासमा अझै प्रतिसिलिण्डर ३७८ रुपैयाँ ७ पैसा तथा डिजेलमा प्रतिलिटर ११ रुपैयाँ १८ पैसा घाटा छ । यस्तै पेट्रोलियम पदार्थ खरिद बापतको करिब २१ अर्ब आईओसीलाई तिर्न बाँकी रहेको पनि निगमले जानकारी गराएको छ ।

निगम सञ्चालक समितिको बैठकले बिहीबार डिजेल र मट्टितेलको मूल्यमा प्रतिलिटर ६ रुपैयाँले वृद्धि गरेको हो । मूल्य बढेसँगै डिजेल र मट्टितेलको मूल्य प्रतिलिटर १ सय ७८ रुपैयाँ पुगेको छ । यसअघि डिजेल र मट्टितेलको खुद्रा बिक्री मूल्य प्रतिलिटर १ सय ७२ थियो । पेट्रोल, हवाई इन्धन तथा खाना पकाउने एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको छ । पेट्रोलको बिक्री मूल्य प्रतिलिटर रु १सय ८१, हवाई इन्धन आन्तरिकको रु १ सय ९०, हवाई इन्धन बाह्यको १.६४ अमेरिकी डलर र एलपी ग्यासको मूल्य प्रतिसिलिण्डर रु १ हजार ८ सय कायमै छ ।

आइओसीबाट बिहीबार निगमलाई प्राप्त नयाँ मूल्यसूची अनुसार पेट्रोलमा प्रति लिटर एक रुपैयाँ ३९ पैसा, डिजेलमा छ रुपैयाँ १२ पैसा र हवाई इन्धनमा आठ रुपैयाँ एक पैसाले बढेर आएको छ ।